भिडाल फ्लामेन्गोमा अनुबन्धित



लन्डन ।

चिलीका मिडफिल्डर आर्टुरो भिडाल ब्राजिलियन क्लब फ्लामेन्गोमा अनुबन्धित भएका छन् ।फ्लामेन्गोले बिहीबार मिडफिल्डर भिडाललाई अनुबन्ध गरिएको जनाएको छ । ३५ वर्षीय मिडफिल्डरले फ्लामेन्गोसँग एक वर्षको सम्झौता गरेका छन् ।ब्राजिलियन क्लबले भिडाललाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । इटालियन सिरी ए क्लब इन्टर मिलानसँगको सम्झौता अन्त्य गर्दै उनी ब्राजिल लागेका हुन् ।

भिडालले इन्टरमा दुई सिजन बिताएका थिए । उनी २०२० मा बार्सिलोनाबाट इटाली आएका थिए । इन्टरका लागि भिडालले ७१ खेलमा ४ गोल गरेका थिए । भिडाल बायर्न म्युनिखबाट सन् २०१८ मा बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि ८५ खेलमा ९ गोल गरेका छन् । चिलीका लागि उनले १ सय ३३ खेल ३२ गोल गरिसकेका छन् ।
त्यसैगरी, इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले पनि सेनेगलका डिफेन्डर कालिडोउ कुलीबालीलाई अनुबन्ध गर्ने भएको छ । चेल्सीले इटालियन क्लब नापोलीबाट डिफेन्डर कालिडोउलाई अनुबन्ध गर्ने भएको हो । चेल्सीले डिफेन्डर कालिडोउसँग चार वर्षको सम्झौता गर्ने बताईएको छ ।

३१ वर्षीय डिफेन्डर चेल्सीसँग सम्झौता गर्न लन्डन पुगिसकेको बताइएको छ । चेल्सीसँग औपचारिक सम्झौतापछि कालिडोउ अमेरिका प्रस्थान गर्नेछन् । चेल्सीको टोली प्रि सिजनको लागि अमेरिका भ्रमणमा रहेको छ । कालिडोउ २०१४ मा जेन्कबाट नापोली आएका थिए । नापोलीका लागि उनले ३ सय १७ म्याच खेलिसकेका छन् । सेनेगलका लागि उनले ६२ म्याच खेलेका छन् ।

त्यस्तै, जर्मनीका पूर्वमिडफिल्डर मोसिट ओजिल पनि टर्किस क्लब इस्तानबुल बासाकसेहिरमा अनुबन्धित भएका छन् । इस्तानबुलले सामाजिक सञ्जालबाट ओजिललाई अनुबन्ध गरिएको जनाएको छ । ओजिलले बुधबार मात्र टर्किस क्लब फेनरबाचे छाडेका थिए । फेनरबाचेसँगको सम्झौता अन्त्य गर्दै ओजिल प्रतिद्वन्द्वी क्लब इस्तानबुलमा आबद्ध भएका हुन् । सम्झौता दुई वर्ष बाँकी रहँदै ओजिलले फेनरबाचे छाडेका हुन् । इंग्लिस क्लब आर्सेनलका पूर्व मिडफिल्डरसमेत रहेका ओजिलले फेनरबाचेका लागि कुल ३६ म्याच खेलेका थिए ।

३३ वर्षीय ओजिलले गत सिजन फेनरबाचेका लागि २२ लिग खेल खेलेका थिए । ओजिल सन् २०१३ मा रियल मेड्रिडबाट आर्सेनल आएका ओजिल टिममा नियमित पर्न छाडेपछि टर्की लागेका थिए । उनले आर्सेनलबाट तीन एफए कप जितेका थिए । ओजिलले आर्सेनलका लागि २ सय ५४ खेलमा ४४ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्