टोटेनह्यामको आधा दर्जन गोल



लन्डन  ।

प्रि सिजनको मैत्रीपूर्ण खेलअन्तर्गत इंग्लिस प्रिमियर लिग क्लब टोटेनह्याम हट्सपरले आधा दर्जन गोल जित हासिल गरेको छ ।
बुधबार राति भएको खेलमा टोटेनह्यामले दक्षिण कोरियाले स्थानीय शीर्ष डिभिजन लिग, के लिगको अल स्टार टिमलाई ६–३ गोलअन्तरले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा ह्यारी केन र ह्युङ मिन सनको आगमनपछि स्पर्सले लगातार गोल गरेको थियो । दुवै स्टार फरवार्डले २–२ गोल गरे । टोटेनह्यामका लागि अर्को गोल एरिक डाएरले गर्दा एक गोल आत्मघाती भएको थियो ।

कोरियाली टोलीका लागि गुए–सुन चो, लार्स भेल्डिक र जुन अमानोले १–१ गोल गरे । खेलको ३० औं मिनेटमा डाएरले पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा सुन चोले हेडर मार्फत स्कोर बराबरी गरे । दोस्रो हाफको सुरुवातमा केनको क्रसलाई क्लियर गर्ने धुनमा जिन–ह्योक किमले आफ्नै पोस्टमा गोल गरे । तर त्यसको पाँच मिनेट नबित्दै भेल्डिकले पेनाल्टी क्षेत्र बाहिरबाट सहजै गोल गरे । खेलको ५४ औं मिनेटमा केनले दायाँ खुट्टाले गोल गर्दै स्पर्सलाई अघि बढाए ।

खेलको ६८औं मिनेटमा सनले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । तर, अमानोको फ्रिकिक गोलले गोलअन्तर एकमा झ-यो । त्यसपछि केन र सनले १० मिनेटको अन्तरमा गोल गर्दै फराकिलो जित सुनिश्चित गरे । टोटेनह्यामले प्रि–सिजनमा पहिलो मैत्रीपूर्ण म्याच खेलेको हो । टोलीले अब कोरियामा नै सेभिल्लाको सामना गर्नेछ । बुधबारको खेलमा ब्राजिलियन फरवार्ड रिचार्लीसनले डेब्यु गरेका थिए । यस सिजन च्याम्पियन्स लिग खेल्ने टोटेनह्यामले हालसम्म पाँच खेलाडी अनुबन्ध गरिसकेको छ । यभ्स बिसुमा, फ्रेजर फोस्टर, इभान पेरिसिच र क्लेमेन्ट लेंगलेट पनि यसै सिजन भित्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्