छानबिनको सुझाव कार्यान्वयन गर्न अनुरोध



काठमाडौं ।

खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्ष पंकज नेम्वाङलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । खेलाडी संघले खेलाडी र मुख्य प्रशिक्षकबीचको प्रकरणमा छानबीन समितिले बुझाएको एक बुँदालाई कार्यान्वयन गर्न पनि जोड दिइएको छ ।

छानबीन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीको विकल्प खोज्न प्रतिवेदनमा सुझाव उल्लेख गरिएको थियो । यही सुझावलाई आधार बनाएर खेलाडी संघले छिट्टै एन्फाले यसको कार्यान्वयन गर्न अनुरोध गरेको छ । हाल प्रशिक्षक अल्मुताइरी छुट्टीमा रहेका छन् ।

एसियन कप छनोट खेल्नुअघि बन्द प्रशिक्षण वरिष्ठ खेलाडीले छाडेपछि प्रशिक्षक र खेलाडीको विवाद चुलिएको थियो । उक्त बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका थिए । गोलकिपर किरण चेम्जोङले खेलाडीको समर्थन गरेको भन्दै प्रशिक्षकले उनलाई पनि टोली समावेश गरेका थिएनन् । एन्फामा नयाँ नेतृत्व आएपछि ती बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फिर्ता लिने निर्णय लिएको छ ।

यस विषयमा खेलाडी संघले नयाँ नेतृत्वको एन्फालाई धन्यवाद पनि दिएको छ । साथै, खेलाडी संघले खेलाडीको बिमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्नुहुन पनि ध्यानाकर्षण पत्रमा समेटिएको छ । अन्य बुँदामा खेलाडीलाई वर्षभरि व्यस्त गर्न प्रतियोगिता आयोजना गर्नु पर्ने, खेलाडीलाई विदेश जान रोक्न एन्फाले सकारात्मक कदम चाल्न अनुरोधसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्