देवलाल र याङदी पहिलो



काठमाडौं ।

देवलाल महर्जन र याङदी लामा शेर्पा बुद्धवीर लामा ११औं गीतिमय साँझको सफलताका लागि आयोजित ५ किलोमिटर शुभकामना दौडमा शनिबार पहिलो भएका छन् । देवलाल पुरुष र याङदी महिलामा पहिलो भएका हुन् ।

देवलालले निर्धारित दूरी २३ मिनेट ५३ सेकेन्डमा पूरा गरे । राजु महर्जन दोश्रो तथा बाबुलाल महर्जन तेश्रो भए । तीन पटककी एभरेस्ट म्याराथन विजेता याङदीले ३२ मिनेट ११ सेकेन्ड समय खर्चिन् । सुनिता योञ्जन लामा दोश्रो तथा सीता रिमाल तेश्रो बने ।

विजेतालाई ज्ञानोदय बालवाटिका माविकी संस्थापिका इन्दिरा याक्थुम्बाले एक कार्यक्रमबीच पुरस्कृत गरिन् । सो अवसरमा भेट्रान धावकद्वय पुष्पलाल श्रेष्ठ र लाक्पा शेर्पा लामालाई सम्मान गरिएको थियो । प्रयास मञ्च नेपालको आयोजनामा भएको दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी पुनः राखेप मै आएर टुंगिएको थियो । दौडमा १ सय सहभागी थिए ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, पूर्व धावक एवं गीतकार बुद्धवीर लामा, विश्वको चर्चित मानिने बोस्टन र बर्लिन म्याराथन दौडिसकेका धर्म महर्जन, पूर्व धावक शम्भु दाहाल, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलगायत दौडेका थिए । पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको नाममा इलाममा हुने बुद्धवीर लामा सूर्योदय पर्यटन हाफ म्यारथनको सहयोगार्थ बुद्धवीर लामा ११औं गीतिमय साँझ भदौ ११ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्