सेवास्टिन डर्टमन्डमा अनुबन्धित



लन्डन, (एजेन्सी) ।

आइभोरी कोस्टका फरवार्ड सेवास्टिन हालेर जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डमा अनुबन्धित भएको छ । डर्टमन्डले हालेरलाई डच क्लब आयाक्सबाट २९ मिलियन पाउन्डमा चार वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । उनी सन् २०२६ सम्म सिग्नल इडुना पार्कमा रहनेछन् । २८ वर्षीय हालेरले १८ महिनामै आयाक्स छाड्ने निर्णय गरेको हो ।

फ्रान्सको उमेर समूहबाट प्रतिनिधित्व गरिसकेका हालेर २०२० देखि आइभोरी कोस्टको राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । गत सिजन आयाक्सका लागि सबै ४२ खेलमा ३४ गोल गरेका हालेरले च्याम्पियन्स लिगमा मात्रै ११ गोल गरेका थिए । जुन करिम बेन्जेमा र रोबर्ट लेवान्डोस्कीको भन्दा कम हो । उनलाई डर्टमन्डमा एर्लिङ हालान्डको विकल्पको रुपमा हेरिएको छ । हालान्ड यसै समरमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीमा अनुबन्ध भइसकेका छन् ।

नयाँ सिजनको लागि डर्टमन्डको यो चौथो अनुबन्ध हो । यसअघि डर्टमन्डले रेडबुल साल्जवर्गबाट करिम एडिएमीलाई ३२ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ । त्यस्तै, निको स्लोटरबेक र निकलस सुल पनि डर्टमन्ड आएका छन् । त्यसैगरी, इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका इंग्लिस फरवार्ड रहिम स्टर्लिङ अर्काे प्रिमियर लिग चेल्सीमा जाने पक्का भएको छ । सिटीका २७ वर्षीय फरवार्ड रहिमले चेल्सीसँग व्यक्तिगत सम्झौता गरिसकेको र क्लबले केही दिनमा आधिकारिक रूपमा सार्वजनिक गर्ने बताइएको छ । चेल्सीले प्रि–सिजनका लागि अमेरिका भ्रमणमा जानुअघि नै सम्झौता गरिसक्ने बुझिएको छ । त्यसपछि उनी टोलीसँगै अमेरिका भ्रमणमा सामेल हुनेछन् ।

रहिमलाई अनुबन्ध गर्न चेल्सीसँगै युरोपका ठुला बार्सिलोना, रियल मेड्रिड र बायर्न म्युनिख लगायतका क्लबले चासो देखाएका थिए । यदि, यो सम्झौता पूरा भएमा इंग्ल्यान्डका लागि ७७ क्याप जितिसकेका स्टर्लिङ नयाँ मालिक टोड बोहलीको नेतृत्वमा यो समरमा चेल्सीको पहिलो मुख्य सम्झौता हुनेछ । सिटीले गत सिजन प्रिमियर लिगको उपाधि जित्दा स्टर्लिङले गत प्रिमियर लिगको ३० खेलमा १३ गोल गरेका थिए । सिटीमा सात सिजन बिताउँदा उनले चार प्रिमियर लिगसँगै नौवटा उपाधि जितेका छन् । रहिम सन् २०१५ मा प्रिमियर लिग क्लब लिभरपुलबाट ४९ मिलियन पाउन्डमा सिटीमा आबद्ध भएका थिए । सिटीका लागि रहिमले ३ सय ३९ खेलमा १ सय ३१ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्