इंग्ल्यान्डको जितले भारतको सपना चकनाचुर



लन्डन, (एजेन्सी) ।

भारतको इंग्ल्यान्डमा १५ वर्षपछि टेस्ट सिरिज जित्ने सपना चकनाचुर भएको छ । घरेलु टोली इंग्ल्यान्डले बर्मिघम टेस्टमा भारतलाई ७ विकेटले हराएको हो ।

लयमा रहेका जोए रुट र जोनी बेयरस्टोले भारतको जितमा तगारो राखेका हुन् । १ सय ९ रनमा तीन विकेट गुमेर संकट परेको इंग्ल्यान्डलाई उनीहरुले २ सय ६९ रनको साझेदारी गर्दै शानदार जित दिलाए । जबकी भारतले ३ सय ७८ रनको विशाल लक्ष्य दिएको थियो ।यो जितसँगै ५ टेस्टको टेस्ट सिरिज २–२ ले बराबरी भएको छ । भारतले पहिलोपटक ३ सय ५० रन भन्दा बढीको लक्ष्य दिँदा हारको सामना गर्नु परेको छ । रुटले पाँचाैं तथा अन्तिम टेस्टको अन्तिम दिनमा करियरको २८औं शतक प्रहार गरे । २०२१ पछि उनले ४७ इनिङ खेलेर ११ शतक प्रहार गरिसकेका छन् । भारतविरुद्ध रुटको यो नवौं शतक हो ।

लक्ष्य ठूलो थियो, तर भारतीय बलरले इंग्ल्यान्डका ओपनर ब्याटरलाई छिटै आउट गर्न सकेनन् । एलेक्स लिस र ज्याक क्रालीले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए । त्यसो त यसपछि २ रन भित्र तीन ब्याटर पभेलियन फर्काएर भारतले खेलमा नियन्त्रण लिने संकेत गरेको थियो । तर, यस्तो भएन । बेयरस्टो र रुटले शतक प्रहार गरेर भारतीय टोलीलाई जितबाट वंचित गरे । बेयरस्टो १ सय १४ रन र रुट १ सय ४२ रनमा नटआउट रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्