रामेछाप बस दुर्घटनामा १३ को मृत्यु



मन्थली । 

रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा रहेको लुभुमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो ।

उपचारका लागि धुलिखेल अस्पताल लगिएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । मृत्यु हुनेहरूमा सुनापति गाउँपालिका– ५ का ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर बिक, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय संजु आलेमगर र सोही गाउँपालिका वडा नं. ४ की २६ वर्षीय समरिता तामाङ हुनुहुन्छ ।यसै गरी, काभ्रे जिल्लाको रोशी–४ का २५ वर्षीय कमल तामाङ, पाँचखाल– ८ का १८ वर्षीय सुदीप गजमेर र वडा नं. ९ मण्डनदेउपुरकी ६० वर्षीया शुभलक्ष्मी मानन्धर, वडा नं. ८ का ४० वर्षीय कुलबहादुर बि.क. हुनुहुन्छ । उहाँहरू सबैको दुर्घटनास्थलमै ज्यान गएको हो ।

रामेछापका प्रहरी प्रमुख थिङका अनुसार उपचारका क्रममा ज्यान गुमाउनेमा ४५ वर्षीय रामबहादुर श्रेष्ठ, २४ वर्षीय बुद्ध तामाङ र नेमा तामाङ हुनुहुन्छ । एक जनाको मंगलबार रातिसम्म पनि सनाखत हुन सकेको छैन । गम्भीर घाइते भएका २० जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभए पनि हालसम्म ३३ जना सवार भएको पुष्टि भएको डीएसपी थिङले नेपाल समाचारपत्रलाई बताउनुभयो ।
ब्रेक फेल भएर बस दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ ।

बसका चालक घाइते रहेको र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।सहचालकले भागेर अन्यत्रै उपचार गराएको बुझिएको छ । ‘ब्रेकफेल भएर दुर्घटना भएको भन्ने कुरा आयो । हामीले हेर्दा पनि घटना ब्रेक फेल भएकै जस्तो देखिन्छ । ओरालोमा ब्रेक लागेको कतै देखिँदैन’ प्रहरी नायव उपरीक्षक थिङले जानकारी दिनुभयो ।’

उपचाररत २० जना खतराबाट मुक्त रहेको तर अधिकांश गहिरो चोटमा रहेको अस्पतालले जनाएको छ । बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो । गम्भीर घाइते ३ जनालाई हेलिकप्टरमार्फत् काठमाडौं लगिएको थियो । बनेपाकै शिरमेमोरियरमा उपचार गराइरहेका एक पुरुष पनि खतराबाहिर रहेको बताइएको छ । उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्