नेपाल सोतोकान कराँते संघद्वारा जनप्रतिनिधिहरू सम्मानित



काठमाडौं ।

नेपाल सोतोकान कराँते संघले स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ।

गत शनिवार काभ्रेको पनौती नगरपालिका हलमा एक कार्यक्रमको आयोजना गरी स्थानीय तह निर्वाचनमा नव निर्वाचिन जनप्रतिनिधिहरूलाई स्वागत, बधाई एवं शुभकामना ब्यक्त गरिएको थियो । नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामा, उपमेयर रत्न लामा र पनौती नगरपालिका मेयर रामशरण भण्डारी, उपमेयर गीता बञ्जरा तथा वडा अध्यक्ष र सदस्यहरूलाई कार्यक्रममा प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले फूलमालासहित सम्मान गर्नुभएको थियो ।

सो कार्यक्रममा राज्यमन्त्री यादवले खेल क्षेत्रको विकास र विस्तार अपरिहार्य रहेको बताउँदै मन्त्रालयबाट हुनसक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउँदै खेल क्षेत्रमा महिला सहभागितालाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । राज्यमन्त्री यादवले खेलकुदका माध्यमबाट प्रत्येक व्यक्तिलाई स्वच्छ, अनुशासित एवं इमान्दार नागरिक बनाउने कार्यमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सम्मानपश्चात् दुवै नगरपालिका जनप्रतिनिधिहरुले खुशी व्यक्त गर्दै नगरवासीको सर्वाङ्गीर्ण विकास कार्यमा खेल क्षेत्रले पुर्‍याएको योगदानको कदर गर्दै संघसँग सहकार्य गर्न आफूहरु इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल सोतोकान कराँते संघका केन्द्रीय अध्यक्ष हेमकुमार श्रेष्ठले आफ्नो जन्मभूमि र कर्मभूमिबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्न पाउँदा आफू ज्यादै हर्षित भएको बताउँदै आफ्नै जन्मभूमि र कर्मभूमिबाटै खेल क्षेत्रको विकास र विस्तारमा क्रियाशील रहने बताउनुभयो । उक्त कार्यक्रमको सञ्चालन त्रिलोचन श्रेष्ठ गर्नुभएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष प्रमिला सिंहले स्वागत मन्तव्य राख्नुभएको थियो । संघका सचिव नेहा राज्यलक्ष्मी शाहले संघद्वारा सम्पादित कार्य र भावी योजनाबारे संक्षेपमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका अतिथिहरूको सम्मान स्वरुप सोतोकान कराँतेका शिक्षक, रेफ्री तथा खेलाडीहरूले ‘वो’ प्रर्दशन गरिएको थियो । उक्त कार्यक्रममा खेल क्षेत्रसँग सरोकार राख्नुहुने जनप्रतिनिधि, समाजसेवी एवं नागरिक समाजका अभियन्तालगायत स्थानीयबासीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्