हेनरिक इन्टरमा अनुबन्धित



लन्डन, (एजेन्सी) ।

इटालियन सिरी ‘ए’ क्लब एएस रोमाका मिडफिल्डर हेनरिक मिखटरयान इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् ।

उनी फ्रि ट्रान्सफरमा इन्टरमा अनुबन्धित भएका हुन् । ३३ वर्षीय मिडफिल्डर हेनरिकको रोमामा सम्झौता यो सिजनको अन्त्यसँगै सकिएको थियो । तर, क्लबले सम्झौता नवीकरणका लागि कुनै चासो नदेखाएपछि उनी इन्टरमा पुगेका हुन् । उनी इन्टर मिलानबाट खेल्ने पहिलो अर्मेनियाली खेलाडी बन्नेछन् । हेनरिकले रोमामा एक सिजन लोनसहित तीन वर्ष बिताएका छन् । उनले रोमाका लागि १ सय १७ खेलमा २९ गोल गरेका छन् ।

अर्मेनियन क्लब पायोनिकबाट व्यवसायिक खेल करिअर सुरु गरेका हेनरिकले दुई सिजन युक्रेनी क्लब मेटारलर डोनेट्स्कमा बिताएका थिए । त्यसपछि, युक्रेनी क्लब साख्तर डोनेट्स्कबाट खेलेका उनले जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्ड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सेनलबाट खेलिसकेका छन् । इन्टरको नयाँ सिजनमा यो चौथो अनुबन्ध हो । यसअघि, इन्टरले चेल्सीबाट फरवार्ड रोमेलु लुकाकु, आयाक्सबाट गोलरक्षक आन्द्रे ओनाना, इम्पोलीबाट मिडफिल्डर क्रिस्टजन अस्लानी अनुबन्ध गरिसकेका छन् ।

त्यसैगरी, इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले पनि डिफेन्डर जेम्स टार्कोव्स्कीलाई अनुबन्ध गरेको छ । एभर्टनले फ्री ट्रान्सफरमा बर्नलीबाट जेम्सलाई अनुबन्ध गरेको हो । २९ वर्षीय डिफेन्डर एभर्टनसँग चार वर्षको सम्झौता गरेका छन् । नयां सिजनका लागि एभर्टनको यो पहिलो अनुबन्ध हो । सेन्टर ब्याक जेम्सले बर्नलीका लागि १ सय ९४ म्याच खेलेका छन् । रेलिगेसनमा परेको बर्नलीमा उनको सम्झौता जुनमा सकिएको थियो । एभर्टनमा जेम्सले २ नम्बरको जर्सी लगाउनेछन् ।

त्यसैगरी, डच क्लब पीएसभीले स्ट्राइकर लुक डी जोङलाई अनुबन्ध गरेको छ । डच लिग क्लब पीएसभीले स्ट्राइकर जोङलाई स्पेनिस क्लब सेभियाबाट अनुबन्ध गरेको हो । डच स्ट्राइकरले पीएसभीसँग तीन वर्षको सम्झौता गरेका छन् । गत सिजन उनले बार्सिलोनाबाट लोनमा खेलेका थिए । बार्सिलोनामा उनले २१ खेलमा ६ गोल गरेका थिए । उनी तीन वर्षपछि पीएसभी फर्किएका हुन् । २०१९ मा उनी पीएसभीबाट स्पेनिस क्लब गएका थिए ।

प्रतिक्रिया दिनुहोस्