दिलिप स्मृति च्याम्पियन



काठमाडौं  ।

दिलिप स्मृति प्रतिष्ठान प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण र ३ रजतसाथ प्रतिष्ठान समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय तेक्वान्दो विभागको आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र १ कांस्यसहित कोटेश्वर तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानको मूलपानी तेक्वान्दो डोजाङले २ स्वर्ण, ३ रजत र २ कांस्य हात पा-यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा कोटेश्वरका सागर घिमिरे तथा महिलामा प्रतिष्ठानकी भवानी बुढाथोकी उत्कृष्ट खेलाडी चुनिए । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए ।प्रतियोगितामा पुरुष-महिलामा ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् । ७१औं मदन जयन्तीका अवसरमा आयोजित दुईदिने प्रतियोगितामा २ सय ३० खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्