रनिङशिल्ड दोस्रोपटक बुद्धलाई



हेटौंडा, ।

मकवानपुर जिल्लास्तरीय १२औं राष्ट्रपति रनिङशिल्ड बुद्ध मावि बकैयाले जितेको छ । मकवानपुरका दश पालिकामध्ये ८ वटाको सहभागितामा भएको जिल्लास्तरीय प्रतियोगितामा बुद्धले १० स्वर्ण, ३ रजत र ३ कास्यपदक प्राप्त गरी शिल्ड जितेको हो । अघिल्लो वर्ष पनि पनि बुद्धले नै शिल्ड जितेको थियो ।

थाहा नगरको जनकल्याण मावि ५ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित दोस्रो भएको छ भने हेटौंडाको जनप्रिय मावि ४ स्वर्ण, ३ रजत र २ कास्यसहित तेस्रो भएको जिल्ला खेलकुद विकास समिति प्रमुख राजन दाहाल (खुशराज) ले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत भलिबल छात्रतर्फ सुृन्दरीदेवी मावि थाहा नगर प्रथम, अरनिको मावि हेटौंडा द्वितीय र कालिका मावि कैलाश तृतीय भएका छन् । छात्रातर्फ जनकल्याण मावि प्रथम, भानु मावि मकवानपुरगढी दोस्रो र कालिका मावि इन्द्रसरोवर तृतीय भएका छन् । कबड्डी छात्रतर्फ जनप्रिय हेटौंडा प्रथम, जनकल्याण थाहा द्वितीय र चण्डिका मावि गढी तृतीय भएका छन् । कबड्डी छात्रातर्फ जनकल्याण प्रथम, चन्द्रोदय मावि हेटौंडा द्वितीय र वंशगोपाल मकवानपुरगढी तृतीय भएका छन् ।

एथलेटिक्समा बुद्धका आयुश नेगी र करुणा पाख्रिन, भलिबलमा सुन्दरीदेवीका पुजन गुरुङ र जनकल्याणकी सबिना रुम्बा तथा कबड्डीमा जनप्रियका निश्चल थापा तथा जनकल्याणकी कञ्चन घले उत्कृष्ट भएका छन् ।

विजेता खेलाडी तथा विद्यालयलाई वागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्की, नगर खेलकुद विकास समिति अध्यक्ष चन्द्र शाही, विभिन्न खेल संघका अध्यक्षले मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताका विजेता खेलाडीले वागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेल्नेछन् । प्रदेश प्रतियोगिता असार २५ गतेदेखि काठमाडौंमा हुने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्