इस्नरद्वारा एस प्रहार गर्नेमा विश्व कीर्तिमान



लन्डन, (एजेन्सी) । 

अमेरिकी टेनिस खेलाडी जोन इस्नरले ग्रान्डस्लाम प्रतियोगितामा कुनै ठूलो उपलब्धि हासिल गर्न नसके पनि एस प्रहार गर्नेमा विश्व कीर्तिमान रचेका छन् ।

६ फिट १० इन्च अग्ला इस्नरले लन्डनमा जारी विम्बल्डनको तेस्रो चरणमा एसको कीर्तिमान राखेका हुन् । उनले जानिक सिनरविरुद्ध २४ एस प्रहार गरेपछि उनले इभो कार्लोभिचको विश्व कीर्तिमान ओझेलमा पारेका हुन् । तर, यो खेलमा उनलाई जिताउन ती ‘एस’ भने सहयोगी बन्न सकेन । उनले यो खेल हारेर प्रतियोगिताबाट बाहिरिनुप-यो ।

इस्नरले हालसम्म १३ हजार ७ सय २९ एस प्रहार गरेका छन् । उनले कीर्तिमान राख्न पाउँदा गर्वित भएको पनि बताए । दोस्रो चरणमा घरेलु खेलाडी एन्डी मुर्रेलाई हराएका उनले बताए-म ‘हल अफ द फेम’ पनि हुने छैन । तर, यो सदावहार कीर्तिमानमा अग्रता राख्नु मलाई अझ खेल्न प्रेरणा दिन्छ । म अझै एस प्रहार गर्दै संख्या विस्तारित गर्नेछु ।

३७ वर्षीय इस्नरले हालसम्म करियरमा ३ हजार ४ सय ३७ खेल खेलेका छन् । उनले झन्डै ५ सय ७३ सेट जितेका छन् । उनलाई बिग सर्भिङ अमेरिकी भनेर पनि उपनाम दिइएको छ । उनले एटीपी टूरमा सात सिजनमा १ हजार एस प्रहार गरेका छन् । उनले सन् २०१५ मा सर्वाधिक १ हजार २ सय ६० ऐस प्रहार गरेका छन् ।

इस्नरले एस हानेको देखेर पूर्व टेनिस खेलाडी जोन म्याकन्रोले इस्नर टेनिसको इतिहासमा महान खेलाडी भनेर सम्बोधन गरेका थिए । बीबीसी पन्डित टिम हेन्म्यानले उनको सर्भिस फर्काउन कठिन भएको बताए । उनले बताए—इस्नरको सर्भिस उचाइमा आउने हुँदा फर्काउन सकिँदैन । उनको सर्भिस प्रहार टाउकोसम्म आउँछ।

‘एस’ भनेको के ?

टेनिसमा ‘एस’ को ठूलो महत्वपूर्ण हुन्छ । जस्तै तासमा एक्कालाई एस भनिन्छ, जसले सबै भन्दा ठूलो पताको रूपमा मानिन्छ । यसरी नै टेनिसमा एसमार्फत् पनि धेरै खेलाडीले जित हात पारेका छन् । एस भन्नाले एक खेलाडीले सर्भिस गर्दा विपक्षी खेलाडीले -याकेटले बल छुन नसक्ने भनेर बुझिन्छ । यो सीधै अंक आउने हो ।
पुरुषतर्फ एटीपी टूरमा सर्वाधिक एस प्रहार गर्ने खेलाडी
जोन इस्नर १३,७४८
इभो कार्लोभिच १३,७२८
रोजर फेडेरर ११,४७८
गोरान इभानोसेभिच १०,२३७
फेलिसियानो लोपेज १०,१५५
एन्डी रोडिक ९,०७४
पिट साम्प्रसा ८,८५८
साम क्वेरी ८,८५८
इभान लुबिचिच ८,१३८
मिलोस राओनिच ८,१३६

प्रतिक्रिया दिनुहोस्