ई–स्पोर्टस् च्याम्पियनसिप अर्को साता



काठमाडौं ।

नेपाल ई–स्पोर्टस् संघको आयोजनमा तेश्रो नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप २०२२ असार २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ । पहिलो र दोश्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो । छोटो समयमा नै विश्वका युवाहरू माझ लोकप्रिय खेल ई–स्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरू माझ निकै नै रुचाइएको खेल पर्दछ ।

थापाथलीस्थित एपी १ को स्टुडियोमा आयोजना हुने च्याम्पियनसिपमा डोटा २, सीएसगो, एमएलबिबी, टेकेन ७ र पब्जी गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनायो । आयोजक संघका अध्यक्ष सुरज डंगोलले च्याम्पियनसिपका प्रतियोगिता सञ्चालन भइसकेको र आषाढ २३ गतेदेखि फाइनल खेलहरू आयोजा हुनेसमेत जानकारी गराए ।

डोटा २ मा ८ टिमका ४३ खेलाडीले सहभागिता जनाएकोमा बेडोज र टेन्जिकु ग्याङ, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडी, एमएलबिबीमा १७ स्क्वाडका १ सय ५ खेलाडीले सहभागिता जनाएकोमा पिङपङ र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरू रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा २ सय ८४ खेलाडीबीच प्रतिस्पर्धा भइरहेको र १६ स्क्वाडका बीच आषाढ १६ गते सम्म सेमिफाइनलका प्रतिस्पर्धा भइरहेको अध्यक्ष डंगोलले जनाएका छन् ।

च्याम्पियनसिप इन्डोनेसियाको बालीमा आयोजना हुने १४ औं विश्व इस्पोर्टस् च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगिता समेत रहेको छ । विजयी खेलाडी तथा टिमले दक्षिण एसियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात् विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने आयोजकले जनाएका छन् ।
च्याम्पियनसिपलाई विभिन्न संघ संस्थाले साथ दिएका छन् । जसमध्ये इभेन्ट्स म्यानेजमेटको जिम्मेवारी माइस प्रा.लि.ले लिएको छ । यस्तै, एपी–१ ले स्थान उपलब्ध गराएको छ भने प्राइम कलेजले पनि च्यामिपयनसिपलाई साथ दिएको छ ।

प्राइमले विजयी ५ खेलाडीहरूलाई स्नातक तहको छात्रवृत्ति प्रदान गर्ने भएको छ । कार्यक्रममा बोल्दै प्राइम कलेजका प्रिन्सिपल एन.पी. शर्माले पढाइ मात्र नभई खेलकुद गतिविधिमा समेत कलेजको लगानी रहेको भन्दै आफ्ना कलेजका आइटिका विद्यार्थीहरूबीच र युवाहरूको बीच निकै नै लोकप्रिय रहेका ई–स्पोर्टस्लाई साथ दिन पाएकोमा हर्ष महशुस भएको भन्दै ५ खेलाडीहरूलाई स्नातक तहको छात्रवृत्ति प्रदान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्