भक्तपुरमा अपराध बढ्दो, ६ महिनामा पाँचको हत्या



भक्तपुर ।

भक्तपुरमा विगत ६ महिनामा पाँच जनाको हत्या, तीमध्ये तीन जनाको आफ्नै परिवारबाट हत्या, नौं जनाको हत्या प्रयास, १४ जनाको बलात्कार र दुई जनाको बलात्कार प्रयास भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले यस्तो जानकारी दिएको हो ।

इन्सेकले सोमबार २०२२ जनवरीदेखि जुनसम्म भक्तपुरमा भएका मानव अधिकार हनन्का घट्नाको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।बितेको छ महिनामा भक्तपुरमा मानव अधिकार हननका २ सय ४० वटा घटनासहित कुल ४ सय ७३ वटा घटना विभिन्न घटनाहरू घटेका छन् ।

इन्सेकका अनुसार उक्त अवधिमा अभद्र व्यवहारबाट ३७ जना महिला पीडित भएका छन् भने घरेलु हिंसाबाट पाँच जना महिला, पाँच ठगीबाट र २ जना आत्महत्या दुरुत्साहनबाट पीडित भएका छन् । उक्त अवधिमा भक्तपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि १ सय ७४ जनाले मुद्दा दर्ता गराएकोमा १ सय २१ जनाको सम्बन्ध विच्छेद भएको छ । बैंकिङ कसुरबाट १ सय २८ जना, लागु औषधमा १३, पशुजन्य अपराधमा १, चोरीका घटना ३१, चोरी गर्ने उद्योगमा एक जना पक्राउ परेका छन् भने जुवाका ६ वटा घटना भएका छन् ।

यस अवधिमा ३४ जनाले आत्महत्या गरेका छन् । त्यस्तै बालिबालिका, महिला, पुरुष गरी १ सय १७ जना हराएकोमा ९३ जना भेटिएका छन् । सवारी दुर्घटनामा १५ जनाको ज्यान गएको छ भने दुई जनाको अंगभंग भएको छ ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठले अपराधको मुख्य कारक तत्व लागु औषधको कारोबार एवं दुव्र्यसनी र मदिरा सेवन नै रहेको बताउँदै यसलाई सरकारले कडाइका साथ नियन्त्रण गर्नेे नीति लिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्