७३ वर्षमा वामदेव गौतमले खोले नयाँ पार्टी



काठमाडौं  ।

सर्वोच्च अदालतले नेकपा पार्टी विभाजित गर्ने फैसला गरेसँगै तटस्थ भूमिकामा रहनुभएका ७३ वर्षीय वामदेव गौतमले नयाँ पार्टी खोल्नुभएको छ । गौतमले मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरी आफ्नो संयोजकत्वमा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्नुभएको हो ।

यसअघि अभियानको रूपमा रहेको राष्ट्रिय एकता अभियानलाई नै पार्टीमा रूपान्तरण गरिएको घोषणा गरिएको हो । उहाँले आफ्नो पार्टीको केन्द्रीय कमिटीमा ७५ सदस्यीय रहने र पार्टी बहुपदीय प्रणालीमा जाने बताउनुभयो ।नयाँ पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी बहन गर्नेगरी ७ उपाध्यक्ष, संगठनात्मक कामको मुख्य जिम्मेवारी पुरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिएको छ ।

पार्टीले सबै कम्युनिस्ट पार्टीलाई एक ढिक्का बनाउने लक्ष्य लिएको भन्दै त्यसका लागि ३ महिने अभियान सञ्चालन गर्ने घोषणा पनि गरिएको छ । एकीकरणको भूमिका निर्वाह गर्दासम्म पार्टीका सम्पूर्ण ढाँचा समन्वय समितिका रूपमा रहने बताउँदै गौतमले हरेक कमिटीका प्रमुख पदमा संयोजक र सचिवको व्यवस्था गरिने बताउनुभयो ।

पार्टीको सचिवमा डीबी कार्की र सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहनुभएको छ । नेकपा विभाजनपश्चात् छुट्टै अभियानमा रहेका गौतमले नेकपालाई पुनर्जीवित गर्ने प्रयास गरे पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल खोलेको बताउनुभयो ।

यसैबीच नेकपा एमालेबाट सांसद भएकी तुलसा थापा नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । एमालेबाट समानुपातिक सांसद रहेकी उहाँ आफ्ना श्रीमान्को नेतृत्वमा रहेको पार्टीमा सदस्य चयन भएसँगै उहाँको सांसद पद धरापमा पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्