लोमान्थाङमा पर्यटन आगमन वृद्धि, पुरानै अवस्थामा फर्कदै पर्यटन



पर्वत ।

हिमालपारीको जिल्ला मुस्ताङको प्रमुख पर्यटकीयस्थल लोमान्थाङमा पर्यटकको आगमन हुनथालेपछि पुरानै लयमा फर्किन थालेको छ ।
कोरोनाको महामारीका कारण दुई वर्षदेखि सुनसान बनेको उपल्लो मुस्ताङको लोमान्थाङमा अहिले आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको हो ।

उपल्लो मुस्ताङ्ग सम्मै राष्ट्रिय गौरबको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरका सडक यातायातको सहज पहुँच बढेको छ । जोमसोम–कोरला १ सय १० किलोमिटर दूरीको सडक स्तरोन्नति भएपछि अहिले पोखरादेखि एकै दिनमा लोमान्थाङ पुग्न सकिने भएको छ । सडकको सहज सुबिधा भएसँगै लोमान्थाङमा स्वदेशी पर्यटकहरु बढेको ब्यबसायीहरु बताउँछन ।

लोमान्थाङमा रहेका ३५ होटलहरु दैनिक रुपमा पाहुनाले भरिभराउ भएका छन् । चैत–वैशाख–जेठ र असार महिना लोमान्थाङ भ्रमणका लागि उपयुक्त समय हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को लोमान्थाङ संरक्षण कार्यालयका कर्मचारी रामबहादुर गुरुङले अभिलेख नराखिए पनि विदेशीको तुलनामा नेपाली पर्यटक धेरै आएको जानकारी दिनुभयो । समथर, नाङ्गा र फुस्रा पहाडले घेरिएको लोमान्थाङ आसपासका क्षेत्रमा गुम्बा, गुफा, दरबार, लोवा समुदायको कला संस्कृति र हिमाली जीवनशैली आकर्षण बनेका छन् ।

लोमान्थाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष टासी गुरुङले दुई वर्षपछि पर्यटकको आगमनले पुरानै लयमा फर्किएको बताउनुभयो । ‘होटल र होमस्टे पाहुनाले भरिएर घरमा समेत सुताएका छौँ,’ उहाँले भन्नुभयो ‘यसअघिको दुई वर्ष पर्यटक आगमन शून्य थियो ।’ काठमाडौंबाट आएका सिर्जन घर्तीले लोमान्थाङलाई जीवन्त इतिहासका रुपमा पाइएको बताउनुभयो । ३० फिटभन्दा अग्लो माटोको पर्खालले घेरिएको बस्तीको बीचमा लोमान्थाङ दरबार छ । यहाँका घर, दरबार, गुम्बा सबै माटोले बनेका छन् । प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली आदि सुन्दरताकै कारण लोमान्थाङ पर्यटकको रोजाइमा परेको पर्यटक बताउँछन ।

लोमान्थाङ, छोसेरको झोङ र चराङको गुफाभित्र अनौठा खालका कलाकृति र सामग्रीहरु पनि छन् । चराङ, मराङ र लोमान्थाङका मौलिक प्रविधिको प्रयोग गरेर निर्माण भएका गुम्बाहरु पनि यहाँको आकर्षणको विषय बनेको छ । लोमान्थाङबाट तिब्बतको सिमानामा रहेको कोरला नाका, छोसेर र छोन्हुपको भ्रमण गरी पुनः लोमान्थाङमै बास बस्न फर्कने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्