अजिरकोटमा मुख्य प्रतिस्पर्धी कांग्रेस- माओवादी

0
Shares

गोरखा । 

स्थानीय तहको चुनावको मतदानको दिन नजिकिँदै गर्दा गोरखाको अजिरकोट गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । अजिरकोट जिल्लाकै पर्यटकीय हिसाबले निकै महत्वपूर्ण स्थान हो ।

हालसम्म वामपन्थीहरुले एकपटक पनि जित हाँसिल गर्न नसकेको यस गाउँपालिकामा अघिल्लो स्थानीय तहको चुनावको मत परिणामलाई आधार बनाउँदा कांग्रेस र माओवादीकै बीचमा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । अन्तिम समयमा आएर गोरखामा कांग्रेस र माओवादी बीचमा गठबन्धन भत्किएको थियो ।

अघिल्लो चुनावमा झीनो मतअन्तरले पराजित भएको माओवादी यसपटक जित निकाल्ने रणनीतिमा लागेको देखिन्छ । गत चुनावमा कांग्रेसका फडिन्द्रप्रसाद धितालले ३ हजार ३३ मत ल्याएर विजयी हुँदा माओवादीका दीपक देवकोटाले २ हजार ७ सय २ मत ल्याउनुभएको थियो । त्यो भनेको धिताल देवकोटाको मतअन्तर जम्मा ३ सय ३१ देखिन्छ यद्यपि माओवादीबाट नै उपाध्यक्षमा उठेकी अनिता भुजेलले भने दीपकको भन्दा कम मत अथवा २ हजार ६ सय ४२ मत मात्रै ल्याउनुभएको थियो ।

अघिल्लो चुनावको भन्दमा यसपालि आफूहरुको अवस्था राम्रो रहेको र आफू निरन्तर जनताको बीचमा नै रहेकाले आफूहरुको जित सुनिश्चित रहेको माओवादी नेताहरुको भनाइ छ । नेपाली कांग्रेसले गोरखा बजारमा होटल चलाएर बसेका गोबिन्द गुरुङलाई यसपालि उम्मेदवार बनाएको छ । धिताल कांग्रेसका पुराना नेताका रूपमा मानिनुहुन्थ्यो तर गुरुङ नयाँ । कांग्रसले नयाँलाई उम्मेदवार बनाउँदा पुराना कांग्रसीमा वितृष्णा भएकाले पनि गोविन्द कमजोर उम्मेदवार रहेको यहाँका कांग्रसका कार्यकर्ताहरुले नै बताएका छन् ।

तर, गुरुङले भने आफू कांग्रसको पुरानै नेता भएको र कांग्रसलाई अजिरकोटमा कसैले हराउन नसक्ने जिकिर गर्नुभयो । कांग्रसबाट अजिरकोटकै उपाध्यक्षमा उठेकी इन्द्रा गुरुङ भने बलियो उम्मेदवार रहेको कांग्रसीजनको तर्क छ । यसपालि अजिरकोटमा केही नयाँ मतदाता थप भएकाले पनि यो मत निर्णयक देखिन्छ ।यो पालिकामा एमाले भने निकै कमजोर छ । गएको चुनावमा एमालेका उम्मेदवारले जम्मा ३ सय ४७ मत ल्याएका थिए ।