बाढीपहिरोले पाँच जिल्लाका राजमार्ग प्रभावित


काठमाडौँ ।

बाढी र पहिरोका कारण देशका पाँच जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार गोरखाको एक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ भने म्याग्दी, नवलपरासी पूर्व, मनाङ र धादिङका सडक एकतर्फी रूपमा सञ्चालनमा छन्।

गोरखाको आरुघाट गाउँपालिकास्थित सोतीमा आएको बाढीले पुल र सडकमा क्षति पुर्‍याउँदा आरुघाट–धादिङ सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

त्यस्तै, म्याग्दीको बेनी–जोमसोम सडक, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, मनाङको बेँसीसहर–खाङ्सार सडक र धादिङको त्रिभुवन राजपथ पहिरो तथा बाढीका कारण प्रभावित भएका छन्।

प्रहरीका अनुसार यी चार जिल्लाका सडकमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्। कालीगण्डकी करिडोरमा भने ठूला सवारीसाधन आवागमन गर्न नसक्ने अवस्था रहेको छ।