नेपालले टी–२० सिरिज बराबरीमा टुंग्यायो



काठमाडौं  । 

ओपनर ब्याटर आसिफ शेखको उत्कृष्ट प्रदर्शनको सहयोगमा नेपाली टोलीले जिम्बावे विरुद्धको तीन खेलको टी–२० सिरिज १–१ बराबरीमा टुंग्याएको छ ।

बुधबार त्रिवि मैदानमा भएको खेलमा घरेलु टोली नेपालले जिम्बावे ‘ए’ टोलीलाई ८ विकेटले हराएसँगै सिरिज बराबरी गर्न सफल भयो । पहिलो खेलमा पाहुना टोलीले जितेको थियो भने दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो । अब नेपाल र जिम्बावेबीचको तीन खेलको एकदिवसीय सिरिज शुक्रबारदेखि थालनी हुनेछ ।

जिम्बावेले जितको लागि १ सय ३७ रन लक्ष्य तेस्र्याएको थियो । नेपालले उक्त लक्ष्य १५.५ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालको जितमा विकेटकिपरसमेत रहेका आसिफले नटआउट हुँदै ८७ रन बनाए । उनले ५४ बलको सामना गर्दै १३ चौका र १ छक्का प्रहार समेत गरेका थिए ।पहिलो विकेटका लागि आसिफलाई अर्का ओपनर कुशल भुर्तेलले राम्रो साथ दिएका थिए । उनीहरूले ९.३ ओभरमा ८८ रनको बलियो साझेदारी गरेपछि नै नेपाल जिततिर अग्रसर भएको थियो ।

कुशल २६ बलमा २ चौका र २ छक्काको मद्दतमा ३४ रन जोडेका थिए । उनलाई ब्रेन्डन मभुताले बोल्ड गरेका थिए । यस्तै बसिर अहमद १० रनमा आउट भए ।त्यसअघि, टस जितेर ब्याटिङ गरेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । टोलीका रोय कैयाले ४१ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए ।

ओपनर इनोसेन्ट कैया १४, टडिवानाशे मरुमानी २७ र टोनी मन्यो २ रनमा आउट भए । ल्यूक जांगवे २३ बलमा २ चौकासहित २३ रनमा अविजित रहे । नेपालका बलरमा सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्