सलाहलाई एफडब्लुए अवार्ड



लन्डन । 

फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘एफडब्लुए फुटबलर अफ द इयर’ अवार्ड यसपटक इंग्लिस क्लब लिभरपुलका इजिप्सियन फरवार्ड मोहमद सलाह र चेल्सीकी साम खेरले जितेका छन् ।

सलाहले म्यानचेस्टर सिटीका केभिन डि ब्रुएना र डिक्लन राइसलाई पछि पार्दै ‘फुटबलर अफ द इयर’ अवार्ड जितेका हुन् । एसोसिएसनले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको छ । सलाहले एफडब्लुए फुटबलर अफ द इयर’ दोस्रोपटक जितेका हुन् । सलाहले यसअघि सन् २०१८ पनि यो अवार्ड जितेका थिए । २९ वर्षीय सलाहले यो सिजन ३१ प्रिमियर लिग खेलमा २२ गोल गरिसकेका छन् । त्यस्तै, १३ असिस्ट रहेको छ । उनकै उच्च प्रदर्शनमा लिभरपुल यो सिजन चौथो उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

लिग कपको उपाधि जितिसकेको लिभरपुल प्रिमियर लिग, च्याम्पियन्स लिग र एफ कपको उपाधि दौडमा रहेको छ । लिभरपुल प्रिमियर लिग शीर्षस्थानको म्यानचेस्टर सिटीसँग एक अंकले पछि रहँदा एफए कपको फाइनलमा तथा च्याम्पियन्स लिगको फाइनल नजिक छ । महिलातर्फको सो अवार्ड भने चेल्सीका साम खेरले जितेकी छिन् । उनले आर्सेनलकी भिभिएनी मिडेमा र म्यानचेस्टर सिटीकी लोउरेन हेम्पलाई पछि पार्दै अवार्ड जितेकी हुन् । महिलामा पहिलोपटक एफडब्लुएका पूर्ण सदस्यले मतदान गरेका हुन् । यसअघि, विशेषज्ञ प्यानलले महिलातर्फको विजेता छान्ने गरेको थियो ।

यो अवार्डमा लिभरपुल र म्यानचेस्टर सिटीकै अधिकांश खेलाडी मनोनयनमा रहेका थिए । १२ फरक क्लबबाट ३१ खेलाडी मनोनयनमा पर्दा लिभरपुलबाट आठ र सिटीबाट ६ खेलाडी मनोनयनमा परेका थिए । एफडब्लूएका अध्यक्ष क्यारी ब्राउनले सलाह र साम दुवैले यो सिजन क्लब र राष्ट्रको लागि उच्च प्रदर्शन गरिरहेको र उनीहरू अवार्डको हकदार रहेको बताए । उनीहरूले पाएको मतले पनि उनीहरू कति उत्कृष्ट छन भन्ने पुष्टि गरेको उनले थपे । सलाह र खेरले मे ५ मा यो अवार्ड ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्