एमालेले गण्डकी र लुम्बिनीका सांसदलाई टिकट नदिने

घोषणापत्र सार्वजनिक आज, महानगर र उपमहानगरको उम्मेद्वार घोषणा भोलि



काठमाडौं ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालले गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई टिकट नदिने भएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा सरकार परिवर्तन हुने सम्भावनालाई मध्यनजर गरी एमालले स्थानीय निर्वाचनमा ती प्रदेशका उम्मेद्वार नबनाउने निर्णय गरेको हो ।

एमालेको बिहीबार बसेको सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी दिनुभएको हो । उपमहासचिव गुरुङले जानकारी दिएअनुसार आज शुक्रबार स्थानीय निर्वाचन २०७९ को लागि घोषणापत्र सार्वजनिक गरिँदै छ भने भोलि शनिबार ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको लागि प्रमुख र उपप्रमुखको उम्मेद्वार घोषणा गरिँदै छ ।

उपमहासचिव गुरुङले भन्नुभयो – ‘सातवटै प्रदेशबाट सिफारिस भएर आएको उम्मेद्वारको बारेमा पार्टी केन्द्रीय कार्यालयले छलफल गरिरहेको छ । ललितपुर, भरतपुर र वीरगन्ज महानगरपालिकामा प्रमुखको लागि एक जनाको मात्र नाम सिफारिस भएर आए पनि अन्य महानगर र उपमहानगरपालिकाका लागि धैरै जनाको नाम सिफारिस भएर आएको छ ।’ गुरुङले शुक्रबार पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमालेको तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी कार्यालय स्थापनाको उद्घाटन गर्दै एमालेले १७ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्