धुलाबारी टाइगर्स र बोस्टन ब्लास्टर्स विजयी



काकडभिट्टा । 

लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा जारी रसोई झापा सुपर लिगअन्तर्गत मंगलबार धुलाबारी टाइगर्स र बोस्टन ब्लास्टर्स विजयी भएका छन् ।

काँकडभिट्टा माविको खेलमैदान भएको पहिलो खेलमा धुलाबारीले भद्रपुरलाई १७ रनले हराएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको धुलाबारी टाइगर्सले १७.५ ओभरमा अलआउट हुँदै १ सय ४० रन बनायोे । धुलाबारीका लागि राज थापाले सर्वाधिक ३२ रन बनाए । त्यस्तै मुकुन्द यादवले २९ रन र गुलसन झाले २१ रनको योगदान दिएका थिए । भद्रपुर राइजिङका बलरमा श्रवण यादवले सानदार बलिङ गर्दै ३.५ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ५ विकेट लिए ।

आशिक रानामगर, प्रेम सिंह र सुमिरन राईले समान १–१ विकेट हात पारेका थिए ।१ सय ४१ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको भद्रपुर १९.१ ओभरमा १ सय २३ रन बनाउँदै अलआउट हुन पुग्यो । टिमका लागि मन्जित श्रेष्ठले सर्वाधिक ४४ रन प्रहार गरे भने अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो । बलिङतर्फ धुलाबारीका लागि गुलसन झा र प्रवेश कामतीले समान २–२ विकेट लिए । त्यस्तै, मुकुन्द यादव, ज्ञानेन्द्र श्रेष्ठ, राज थापा र दीपेश कँडेलले समान १–१ विकेट हासिल गरेका थिए । ‘म्यान अफ द म्याच’ घोषित हुँदै गुल्सन झाले नगद रु ३ हजार प्राप्त गरे।

त्यस्तै, दोस्रो खेलमा बोस्टनले विराट वारियर्सलाई २४ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रनको ठूलो योगफल बनाएको थियो । टिमका लागि करण केसीले १० छक्का र ३ चौकाको मद्दतमा ४१ बलमै ८२ रन बनाए । त्यस्तै, समीर कार्कीले २० बलमा ३३ रन जोडे भने अन्यको प्रदर्शन राम्रो भएको थिएन । बलिङतर्फ विराटका लागि सुमित न्यौपाने, विवेक यादव र सिद्धान्त लोहनीले समान २–२ विकेट लिए । त्यस्तै, विपिन महतो, अनिस लुइँटेल र अभ्यास तिमिल्सिनाले समान १–१ विकेट हात पारेका थिए ।

ठूलो लक्ष्य पाउन विराटले जवाफी ब्याटिङतर्फ निर्धारित २० ओभरमा १ सय ६५ रन मात्र बनाउन सक्यो ।टिमका लागि सिवास बजगाइंँले सर्वाधिक ३२ तथा अनिल लामिछानेले ३० रन बनाए । बलिङतर्फ बोस्टनका लागि विधान गोस्वामी र मिनास थापाले समान ३–३ विकेट लिए । त्यस्तै, करण केसी र सिद्वार्थ कुमालले समान १–१ विकेट हात पारे । ‘म्यान अफ द म्याच’ करण केसी घोषित हुँदै ३ हजार नगद प्राप्त गरेका थिए ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ११ हजारसहित ट्रफी पाउने छ । त्यस्तै, उपविजेता टोलीले नगद १ लाख ११ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको बेस्ट बलरले १० हजार, ‘बेस्ट प्लेयर’ले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ले नगद ३ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्