मलेसियालाई हराउँदै रुपन्देही प्रो क्लब च्याम्पियनसिपको च्याम्पियन



भैरहवा ।

भैरहवामा पहिलो पटक भएको अन्तरदेशीय क्रिकेट प्रतियोगिता प्रो क्लब च्याम्पियनशिपको उपाधि नेपालको रुपन्देही–११ ले जितेको छ । अस्ट्रेलियन लेग स्पिनर वार्नको स्मृतिमा भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा रुपन्देही–११ ले मलेशिया–११ लाई ७ विकेटले हराउँदै उपाधि जितेको हो ।

सुरुवाती व्याटिङको निम्तो पाएको मलेशिया–११ ले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रनको योगफल बनाएको थियो । मलेशियाका लागि नजरिल रहमानले २२ बलमा ४ चौका २ छक्काको सहयोगमा ३६ रन बनाए । यस्तै मलेशियाका अर्का खेलाडी जुबैदी जुल्किफ्ले १६ बलमा ४ चौका १ छक्काको सहयोगमा २६ रन जोडे ।

बलिङमा रुपन्देहीका लागी वसिर अहमदले ४ ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए । यस्तै कृष्ण कार्की, रुपेश कुर्मी, विक्रम भुसाल र विशाल विक्रम केसीले समान १/१ विकेट लिए ।

जवाफी व्यटिङमा १ सय ४१ रनको लक्ष्य पाएको रुपन्देहीले लक्ष्य पार गर्दै जित निकाल्यो । ७ विकेटले जित निकालेको रुपन्देहीका लागि प्रज्वल थापाले अर्धशतकीय पारी खेलेर रुपन्देहीका लागी जित सुनिश्चित बनाए । उनले ६१ बल खेल्दै ८ चौका र २ छक्काको सहयोगमा ७१ रन बनाए । यस्तै सन्दीप रजालीले ४१ रन बनाए । बलिङतर्फ मलेशियाका मोहम्मद वकिफ, शैयद अजीज र शरवीन मुनीन्दीले १/१ विकेट बाडे ।

२२ रनको योगफलमा पहिलो विकेट गुमाएको रुपन्देहीको दोस्रो विकेट १ सय ३४ रनमा खस्यो । त्यतिन्जेल रुपन्देहीको जित करिब निश्चित भएको थियो । फाइनल खेलमा ७१ रन बनाएका प्रज्वल थापा मैन अफ द फाइनल घोषित भए भने प्रतियोगितामा १ सय १९ रन बनाएर तथा १० विकेट लिएका वसिर अहमद मैन अफ द सिरिज घोषित भए ।

विगतका दश वर्षदेखि क्रिकेट प्रतियोगिता गारउँदै आएको जोहरा इन्टरनेसनल प्रालिले भैरहवाको क्रिकेट विकासलाई देशव्यापी रुपमा चिनाउनका लागि पनि भैरहवामा खेल आयोजना गरेको हो ।

सेमीफाइनल खेलमा मलेशियाले युपी–११ लाई र रुपन्देहीले नेपाल आर्मीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो छन् । घरेलु मैदानमा उपाधिसँगै रुपन्देही–११ ले नगद २ लाख ५० हजार, दोस्रो हुँदै मलेशियाले १ लाख, तेस्रो युपी–११ नगद ५० हजार र चौथो हुदै नेपाली सेनाले २५ हजार पुरस्कार जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्