मुम्बई इन्डियन्सको लगातार पाँचौं हार



 एजेन्सी  । 

आईपीएलमा ५–५ पटक उपाधि जितेको टिम मुम्बई इन्डियन्सको यस सिजनमा हालत खराब भएको छ । जारी आईपीएलमा मुम्बईको टिमले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन । बुधबारसम्म ५ खेल खेलिसकेको मुम्बईले लगातार पाँच हार बेहोरेको छ । पन्जाब किंग्सले मुम्बईलाई १२ रनले हराएपछि पहिलो जित खोजीमा रहेको मुम्बईले हारको सामना गर्नुपरेको हो ।

पन्जाबले १ सय ९९ रनको विजयी लक्ष्य दिएकोमा मुम्बईले जवाफमा १ सय ८६ रन मात्रै बनाउन सकेको थियो । टिमका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक रनको योगदान दिएका थिए । उनले २५ बलमा ४९ रनको आकर्षक इनिङ खेलेका थिए । ब्रेभिसले नवौं ओभरमा राहुल चाहरको बलिङमा ४ बलमा ४ छक्का प्रहार गरेका थिए । बेबी एबीको नामले चर्चित दक्षिण अफ्रिकाका यी खेलाडीले उक्त ओभरमा २९ रन बटुलेका थिए ।

पन्जाबको तर्फबाट ओडियन स्मिथले सर्वाधिक ४ विकेट आफ्नो खातामा राखेका थिए । उनले अन्तिम ओभरमा ३ विकेट लिएर टिमलाई जित दिलाउन अहम् भूमिका समेत खेलेका थिए । जबकि, उनको पहिलो बलमा जयदेव उनादकटले छक्का प्रहार गरेर पन्जाबलाई हारतिर धकेलिसकेका थिए । तर, यसपछि उनले जयदेवलाई आउट गरेर टिमलाई राहत दिलाए ।
रोहितले निरास गरे

मुम्बईका कप्तान रोहित शर्माले फेरि एकपटक निराशाजनक ब्याटिङ गरे । रोहित कागिसो रबाडाको बललाई छक्का हान्ने सोचमा जितेश शर्मालाई क्याच ठमाएर पभेलियन फर्कनुपरेका थिए । उनले २८ रन बनाएका थिए । तर, उनी टी २० क्रिकेटमा १० हजार रन बनाउने दोस्रो भारतीय खेलाडी भने बनेका छन् । पहिलो नम्बरमा भारतीय पूर्वकप्तान विराट कोहली रहेका छन् । यस्तै, इशान किशनले पनि ३ रन बनाएर टिमलाई निरास पारेका थिए ।

यसअघि, पन्जाबको ब्याटिङमा कप्तान मायंक अग्रवालले शानदार ब्याटिङ गरेका थिए । उनले केवल ३२ बलमा ५२ रन बनाएका थिए । मुरूगन अश्विनले मायंकलाई पभेलियन फर्काएका थिए । यस्तै, शिखर धवनले ७० रनको आकर्षक इनिङ खेलेका थिए । मायंक र शिखरले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेर टिमलाई बलियो स्कोरतिर अग्रसर गराएका थिए । त्यस्तै, जितेश शर्माले १५ बलमै ३० रन र शाहरूख खानले ६ बलमा १८ रन बटुलेका थिए । पन्जाबले जारी आईपीएलमा ५ खेलमा तेस्रो जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्