एसी मिलानले अंक बाँड्यो



एजेन्सी । 

जारी सिजनको इटालियन सिरी ‘ए’ लिगको बलियो टोली एसी मिलान बराबरीमा रोकिएको छ ।मिलान टोरिनोसँग गोलरहित बराबरीमा रोकिएको हो ।

टोरिनोमा आइतबार राति भएको खेलमा मिलानले घरेलु टोलीलाई दबाबमा राखे पनि फिनिसिङमा चुक्दा बराबरीको नतिजा आत्मसात गर्नुपरेको हो । यो बराबरीसँगै मिलानको ३२ खेलबाट ६८ अंक पुगेको छ । मिलानलाई रोकेको टोरिनो ३९ अंक भएको छ । सिरी ‘ए’ कै अर्काे खेलमा नेपोली घरेलु मैदानमा फियोरेन्टिनासँग ३–२ ले पराजित भयो ।

फियोरेन्टिनाको जितमा निकोलस गोन्जालेस, जोनाथन कोन र अर्थर कावरलले गोल गरे । घरेलु टोली नेपोलीका ड्रिएस मेर्टिन्स र भिक्टर ओसिमहेनले गोल गरे पनि हार टार्न सकेन । यो खेल हारेको नेपोलीको ३२ खेलबाट ६६ अंक छ । नेपोलीलाई हराएको फियोरेन्टिनाको ३१ खेल बाट ५३ अंक भएको छ । त्यसैगरी, लाजियोले जिनोआलाई ४–१ ले हराउँदा सस्सुलोले एटलान्टालाई, उडिनेसले भेनेजियालाई तथा रोमाले सालेरनिटानालाई समान २–१ ले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्