बार्सिलोनाको पुनरागमन जित



एजेन्सी । 

क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लेभान्टेमाथि पुनरागमन जित निकालेको छ । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित डच फरवार्ड लुक डि जोङले गोल गरेपछि बार्सिलोनाले घरेलु टोली लेभान्टेमाथि जित निकालेको हो । बार्सिलोनाले लेभान्टेलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

भ्यालेन्सियामा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा लुक डि जोङसँगै पिएरे इमरिक औवामियाङ र पेड्रीले गोल गरेका थिए । घरेलु टोलीका जोस लुइस मोरालेस र गोन्जालो मेलेरोले गोल गरे । प्रतिस्पर्धात्मक खेलको सबै पाँच गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
प्रतिस्पर्धात्मक खेलको ५२ औं मिनेटमा जोस लुइस मोरालेसको गोलबाट बार्सिलोना खेलमा पछि परेको थियो । पेनाल्टी बक्समा ड्यानी आल्भेसले सनलाई फाउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै लेभान्टेलाई पेनाल्टी प्रदान गर्दा जोस लुइस मोरालेस चुकेनन् । लगत्तै ५६औं मिनेटमा लेभान्टेले अर्काे पेनाल्टी पाए पनि रोजरले गोल गर्न नसक्दा घरेलु टोली अग्रता दोब्बर पार्नबाट चुक्यो । एरिक गार्सियाले हेडरबाट आएको बललाई ह्यान्ड गर्न पुगेपछि रेफ्रीले लेभान्टेलाई पेनाल्टी प्रदान गरेको थियो । तर, रोजरको पेनाल्टीलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाए ।

खेलको ५९औं मिनेटमा पिएरे इमरिक औवामियाङले औसमाने डेम्वेलेको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६३औं मिनेटमा पेड्रीले पाब्लो गाभीको पासमा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । खेलको ८३औं मिनेटमा गोन्जालो मेलेरोले पेनाल्टीबाटै गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । ड्यानिल गोमेजलाई क्लेमेन्ट लेङ्लेटले फाउल गर्न पुगेपछि रेफ्रीले घरेलु टोली लेभान्टेलाई खेलमा तेस्रो पेनाल्टी प्रदान गर्दा यसपटक भने मेलेरो गोल गर्न सफल भए ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई ३–२ को महत्वपूर्ण जित दिलाए । ८४औं मिनेटमा औवामियाङको स्थानमा मैदान छिरेका लुक डि जोङले जोर्डी अल्वाको पासमा गोल गर्न सफल भएका थिए । यो जितसँगै बार्सिलोनाको ३० खेलबाट ६० अंक भएको छ । पराजित लेभान्टेको भने २२ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्