बाराको भलिबलमा मकवानपुरलाई उपाधि



हेटौंडा । 

बारामा भएको पाँचौं नकाउट भलिबल प्रतियोगिताको उपाधि मकवानपुरको केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले जितेको छ । बाराको कोहल्वीमा भएको फाइनलमा स्थानीय समाज सेवा युवा क्लबलाई ३–२ सेटले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो ।

फाइनलको पहिलो सेट १७–२५ ले गुमाएको प्रतिष्ठानले दोस्रो सेटमा २८–२६ को प्रतिस्पर्धात्मक नतिजा निकालेको थियो । तेस्रो सेट २५–१९ ले जित्दै २–१ ले खेल आफ्नो पक्षमा पारे पनि चौथो सेट प्रतिस्पर्धात्मक २६–२८ ले हार्न पुग्यो । २–२ को बराबरीमा पुगेपछि अन्तिम सेट प्रतिष्ठानले १५–९ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले १ लाख नगद हात पारेको छ भने दोस्रो हुने समाज सेवा युवा क्लबले ५० हजार प्राप्त गरेको छ । प्रतियोगितामा प्रतिष्ठानका अशोक श्रेष्ठ उत्कृष्ट खेलाडी, विवश आले उत्कृष्ट सेटर घोषित हु“दा समाज सेवा युवा क्लबका सुरेन्द्र गुरौ उत्कृष्ट स्पाइकर घोषित भए ।

प्रतियोगितामा ९ टिमको सहभागिता थियो । बाराको कोहल्वीस्थित जनजागृति महिला तथा पुरुष उत्थान केन्द्रको आयोजना तथा कोहल्वी नगरपालिकाको आर्थिक सहयोगमा भलिबल प्रतियोगिता भएको हो ।

प्रतिक्रिया दिनुहोस्