बुद्ध जन्मभूमिमा अन्तर्राष्ट्रिय स्पोर्टस डे



लुम्बिनी ।

नेपाल ओलम्पिक कमिटीको आयोजनामा बुधबार साँझ वाकथलनसहित बुद्ध जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस भब्य रूपमा मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको सह–आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा राजनीतिज्ञ, खेलकर्मी, भिक्षुभिक्षुणी, पत्रकार र विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो ।

लुम्बिनी परिसरमा आयोजित वाकथलन मायादेवी मन्दिरमा गएर टुंगेको थियो र त्यहाँ विश्वमा शान्तिको कामना गर्दै दीप प्रज्वलित गरिएको थियो । त्यस अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री माननीय कुलप्रसाद केसीले यस प्रकारको कार्यक्रमले ओलम्पिक आन्दोलनको माध्यमबाट पूरा विश्वमा लुम्बिनीको प्रचार प्रचार हुने विश्वास पोख्नु भयो ।

भिक्षु भिक्षुणीबाट शान्ति पाठसहित शुरु भएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुद्धकालीन समयमै लुम्बिनीमा वृहत खेलकुद कार्यक्रम भएको इतिहास भएको बताउनु हु“दै यो क्षेत्र शान्तिको प्रतीकको रूपमा रहेको र आउने वर्षमा यस कार्यक्रमलाई अझ भव्य रूपमा मनाउने योजना रहेको बताउनु भयो । उहाँले आउने वर्षमा पिस म्याराथन आयोजनाको योजना रहेको पनि बताउनुभयो ।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ को दिनलाई ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस मनाउने निर्णय पारित गरेको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यसका लागि प्रस्ताव राखेको थियो । त्यस अनुसार पूरा विश्वकपमा विविध कार्यक्रम गर्दै यो दिनलाई मनाउँदै आएको छ । नेपालमा सन् २०१४ देखि यस दिन विभिन्न कार्यक्रम गर्न शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्