दीपेश र प्रिन्स फाइनलमा



काठमाडौं ।

दीपेश धामी र प्रिन्स दाहाल चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । वसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा दीपेशले नवीन श्रेष्ठलाई २१–१७ र २१–१९ तथा प्रिन्सले प्रफुल महर्जनलाई २१–१८, २१–२३ र २१–१३ को सेटमा पराजित गरे ।

महिला सिंगल्समा रशिला महर्जनले सुनैना मुखियाँलाई २१–१३ र २१–१७ तथा निता लम्सालले जेशिका गुरुङलाई २१–१५, १९–२१ र २४–२२ को सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

यु–१७ पुरुष सिंगल्समा क्षितिज खनालले डेभिड थापा मगरलाई २१–६ र २१–१८ तथा विवेक चौधरीले रोहित बराललाई २३–२१ र २१–१९ ले पाखा लगाउँदै फाइनल यात्रा तय गरे । सो स्पर्धाको महिलामा रोज पाण्डेले एन्जेल लिम्बूलाई १८–२१, २१–१० र २१–१७ तथा सानिया चन्दले एलिना सुनारलाई २२–२० र २१–१४ ले पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।

पुरुष एक्सिक्युटिभ डबल्समा प्रवीण लिङतेब र सुरोज महर्जनको जोडीले एसिया जबेगु र दिवस शंकरको जोडीलाई २१–८ र २१–१६ तथा विधान अधिकारी र विशाल खड्काको जोडीले हीरा राई र दीपक राणाको जोडीलाई १७–२१, २१–१५ र २५–२३ को सेटमा निराश पार्दै फाइनलमा स्थान बनाए ।

मास्टर्स ४५ वर्षमाथि पुरुष डबल्समा पूर्णहरि होना र सञ्जय कपालीको जोडी तथा विशाल हिराचन र शम्भु श्रेष्ठको जोडीले स्वर्ण भिडन्त पक्का गरे । मास्टर्सकै ५५ वर्षमाथि पुरुष डबल्समा पूर्णचन्द्र जोशी र उमेश केसीको जोडी तथा बुद्धि चौधरी र कमल थापाको जोडी फाइनलमा भिड्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्