मच्छिन्द्र पहिलो चरणबाटै बाहिरियो



काठमाडौं ।

आधा दर्जन जति गोलको अवसर गुमेपछि मच्छिन्द्र एफसीले दशरथ रंगशालामा हार बेहोरेको छ । नेपालको ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रको लागि एएफसी कप छनोटको दोस्रो चरणमा पुग्न जित आवश्यक थियो । तर, गोल गर्न नसक्दा श्रीलंकाको ब्लु स्टार एससीसँग मच्छिन्द्र २–१ ले पराजित भयो । मंगलबार भएको खेलमा ब्लु स्टारले पहिलो हाफमै दुई गोल गरेर मच्छिन्द्रको हार सुनिश्ति पारेको थियो ।

ब्लु स्टारले तीन मिनेटमै दुई गोल गरेर २–० ले घरेलु टिमलाई पछाडि पारिदिएको थियो । पाहुना टिमका लागि मोहमेद इसान र सेनाल सन्देशले गोल गरेका थिए । यद्यपि, यी दुई गोल हुन अघि गोलकिपर विशाल श्रेष्ठले पेनाल्टी किक बचाएका थिए । उक्त गोल बचाएर नायक बनेका विशालले पछिका गोल भने बचाउन सकेनन् । मच्छिन्द्रका लागि अन्तिममा कप्तान सुजल श्रेष्ठले एक गोल फर्काएका थिए ।

यो हारसँगै मच्छिन्द्र एएफसी कपको प्रारम्भिक चरणबाट बाहिरिएको छ । श्रीलंकाली टिम भने दोस्रो चरणमा प्रवेश गरेको छ । उक्त टिमले अर्को चरणमा भारतको एटीके मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्