बोधित र शिखालाई स्वर्ण



काठमाडौं ।

कोशी मल्टिपल क्याम्पसका बोधित डिसी र लिभरपुल कलेजकी शिखा सुवालले केबी साम ११औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसअन्तर्गत कलेजतर्फ मंगलबार स्वर्ण जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज सिंगल्स फाइनलमा बोधितले एभीएम कलेजका रुबिन महर्जनलाई ३–१ ले पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा शिखाले खोप्व कलेजकी अञ्जु सुवाललाई ३–० ले हराइन् ।

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा जारी प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा एभरेष्ट बोर्डिङका आर्यन शाहीले स्वर्ण जिते । उनले फाइनलमा प्रोक्सिमा एकेडेमीका नयन लउललाई ३–० ले पाखा लगाए । सो स्पर्धाको गल्र्स फाइनलमा एभीएमकी श्रेया शाक्यले एभीएमकै अर्सना महर्जनलाई ३–१ ले पन्छ्याउँदै शीर्ष स्थान हात पारिन् ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा भइरहेको प्रतियोगिताको यु– १२ ब्वाइज सिंगल्समा एभीएमका एरिस शाक्य पहिलो भए । उनले फाइनलमा बृहस्पतिका सार्थक मानन्धरमाथि ३–१ को जित रचे । यु–१४ ब्वाइज सिंगल्स फाइनलमा गर्जी स्कुलका प्रिन्स थापाले एभीएमका एलेन महर्जनलाई ३–२ ले पराजित गर्दै पहिलो बने । यु–१६ ब्वाइज सिंगल्समा एभीएमका आयुष भारतीले एभीएमकै आयुश ताम्राकारलाई ३–० को सोझो सेटमा फाइनलमा हराउदै शीर्ष स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्