नेपालले जित्यो टी २० शृंखला



काठमाडौं ।

नेपालले त्रिकोणात्मक टी २० शृंखलाको उपाधि सोमबार जितेको छ । त्रिवि मैदानमा भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको हो । घरेलु टिम नेपालले अपराजित हुँदै उपाधि हात पारेको हो । यसअघि, नेपालले समूह चरणमा पपुवा न्युगिनीविरुद्धका दुवै खेल जितेको थियो । यस्तै, शृंखलामा सहभागि अर्को टिम मलेसियालाई पनि नेपाली टिमले दुवै खेलमा हराएको थियो ।

नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्यको जवाफ दिएको पपुवा न्युगिनीको टिम १६.२ ओभरमा १ सय १८ रनमा अल आउट भयो । नेपाललाई विजेता बनाउन दीपेन्द्रसिंह ऐरीले शानदार बलिङ गरे । उनले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, करण केसीले ३, कप्तान सन्दीप लामिछानेले २ तथा अविनाश बोहराले १ विकेट हात पारेका थिए ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रले ब्याटिङमा पनि प्रभाव देखाउने क्रममा ५४ रन जोडे । यस्तै, करणले ३३ रनको योगदान दिएका थिए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४.४ ओभरमा ३७ रनको साझेदारी गर्दै राम्रो शुरुवात दिलाएका थिए । कुशल २५ रनमा र आसिफ २९ रनमा आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्