पीएसजीको सानदार जित



पेरिस ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । फ्रान्सेली फरवार्ड क्लियन एमबाप्पेले दुई गोलसँगै ह्याट्रिक असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको हो । पीएसजीले घरेलु मैदानमा लोरिएन्टलाई ५–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीको फराकिलो जितमा नेयमार र एमबाप्पेले दुई तथा मेसीले एक गोल गरे । लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए । पार्क डेस प्रिन्सेसमा घरेलु टोली पीएसजीले खेलको १२औं मिनेटमा नेयमारको गोलबाट अग्रता बनाएको थियो । उनले एमबाप्पेको पासमा गोल गर्न सफल भए । २८औं मिनेटमा एमबाप्पेले इड्रिन गाना गुआईको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

खेलको ५६औं मिनेटमा तेरेम मोफीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ६७औं मिनेटमा एमबाप्पेले अचरफ हाकिमीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । ७३औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ९०औं मिनेटमा एमबाप्पेको ह्याट्रिक असिस्टमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै टोलीलाई सानदार जित दिलाए । यो जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको ३० खेलबाट ६८ अंक पुगेको छ । पराजित लोरिएन्ट २८ अंक जोडेर १६औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्