क्यारिना र नर्वदालाई स्वर्ण



काठमाडौं ।

प्रभात बोर्डिङ स्कुलकी क्यारिना सुवाल र प्रोक्सिमाकी नर्वदा खाइटुले केबी साम ११औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । गल्र्स सिंगल्सको यु–१४ मा क्यारिना र यु–१२ मा नर्वदा पहिलो भएका हुन् ।

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१४ फाइनलमा क्यारिनाले आदर्श विद्या मन्दिर (एभीएम) की आश्मा पहारीलाई ३–० को सोझो सेटमा पराजित गरिन् । विजेश्वरी बोर्डिङ स्कुलकी अनामिका कस्ती र सिर्जना ज्ञान सागर स्कुलकी वर्षा अधिकारी संयुक्त रूपमा तेश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यु–१२ को उपाधि भिडन्तमा नर्वदाले आवर होम बोर्डिङ स्कुलकी सुलेखा ठाकुरलाई ३–१ ले हराइन् । ज्ञान सागरकी विपिना थापा र प्रोक्सिमाकी प्रज्ञा भेले तेश्रो बने । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव कुलबहादुर थापा र केबी सामका अध्यक्ष कमलकुमार बेगानीले संयुक्त उद्घाटन गरे ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्ससहित विभिन्न ३४ स्पर्धामा ३ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् । पुरुष/महिला सिंगल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५/१५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्