काठमाडौँ ।
२०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त काष्ठमण्डप खुलेसँगै हेर्नेको घुइँचो लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो पुनः निर्माणपछि काष्ठमण्डप (मरुसतः) उद्घाटन गरेपछि अवलोकन गर्नेको घुइँचो लागेको हो ।
उद्घाटन गरेको अवसर पारेर हिजो एक दिनको लागि मात्र खुला गरिएको काष्ठमण्डप साढे ६ वर्षपछि खुला भएको हो । उद्घाटन कार्यक्रम सके लगत्तै सर्वसाधारण माथिल्लो तला सम्म अवलोकन गर्न पुगेका थिए । सर्वसाधारणको भीड नियन्त्रण गर्न प्रहरी पचिलान गरिएको थियो ।
काष्ठमण्डप पुनः निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले लोकार्पण गरेको अवसर पारेर एक दिन खुला गरिएको बताउनुभयो । ‘समय मिलाएर प्रवेश गर्न मिल्ने व्यवस्था गरी खुला गर्नेछौ, अहिले केही दिन खोल्न समय लाग्नेछ । ।

काष्ठमण्डप परिसरमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शन गरी सोको उद्घाटन गर्नुभएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको काष्ठमण्डप समितिको लगातार खटेपछि निर्माण सम्पन्न भएको हो । राष्ट्रपति भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत काष्ठमण्डपको पुनः निर्माण र जीर्णोद्धार कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न काठमाडौँ महानगर र सम्पदाकर्मी तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरूको प्रशंसा गरिन् ।
कार्यक्रममा उहाँले भन्नुभयो–‘विसं २०७२ को भूकम्पबाट जनजीवन, बस्ती र सम्पदालाई प्रभावित पारे पनि नेपालीले दुःख, कष्टलाई सामूहिक रूपमा मिलेर पुनः निर्माण गर्न सक्छौँ भन्ने आत्मविश्वासको पुनः पुष्टि भएको उनले बताइन् । राष्ट्रपति भण्डारीले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न यस्ता ऐतिहासिक सम्पदाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले पुनः निर्माण कार्य र सम्पदा संरक्षणमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्नुभयो । समितिका संयोजक निर्माण समितिले निर्माण कार्य निरन्तर चलिरहने प्रक्रिया भएकाले उद्घाटन नभई लोकार्पणको कार्यक्रम तय बताउनुभयो ।
कार्यक्रममा काष्ठमण्डप समितिका संयोजक एवं प्रदेशसभा सदस्य राजेश शाक्यले पुनः काष्ठमण्डपको साँचो काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा कामपा मेयर शाक्यले पुनः निर्माण सम्पन्न भएकामा खुसी व्यक्त गर्दै चन्दा सङ्कलन गरेर काष्ठमण्डपको पुनः निर्माण गर्ने या कसरी गर्ने भन्ने विषयमा विवाद भएको स्थितिमा आफूहरू निर्वाचित भएपछि कार्यपालिकाबाट निर्णय गरेर बजेट विनियोजन गरेर काम सुरु गरिएको बताए । उहाँले भन्नुभयो–कामपाले जे निर्णय गरेर समितिलाई पुन निर्माण गर्ने जिम्मा दियौ, यो नै खुसीको विषय हो । हामी काठमाडौँको नाम राख्न सफल भएका छौ । पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले काष्ठमण्डपको ऐतिहासिकता र मौलिकता ख्याल गरेर पुनः निर्माण गरिएको बताउनुभयो । कार्यक्रममा मन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठ, मन्त्रीसन्त्री राजेन्द्र महत्तो, सांसद विना श्रेष्ठ, प्रदेश सांसद एवं मन्त्रीसन्त्री अजय क्रान्ति शाक्य लगायतको उपस्थिति रहेको थियो ।

पुनः निर्माण सुरु भएको ३ वर्ष ८ महिनापछि काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । कामपाको स्वामित्वमा रहेको काष्ठमण्डप कसले पुन निर्माण गर्ने ? भन्ने विषयमा विवाद भैरहँदा प्रदेश सांसद राजेश शाक्यको संयोजकत्वमा स्थानीयको सहभागितामा ५५ सदस्यीय समिति निर्माण गरी पुनः निर्माण सुरु गरिएको थियो । काष्ठमण्डप पुन निर्माण गर्न करिब ८ हजार क्यु फिट नयाँ र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब ४ हजार ९ सय क्यु फिट काठ प्रयोग भएको थियो । करिब १ लाख ६० हजार माःअप्पा, १५ हजार तेलिया इट्टा प्रयोग भएको छ ।
कामपा र पुरातत्त्व विभागले करिब १९ करोड खर्च हुने इष्टिमेट गरेपछि खर्चको विषयमा विवाद बढेको थियो । इष्टिमेटमा शंका लागेपछि कामपाले आफ्नै खर्चमा पुनः निर्माण गर्ने योजना बनाएको थियो । सोही योजनाको आधारमा सुरु गरिएको पुनः निर्माण सम्पन्न गर्न करिब साढे ११ करोड रुपियाँ खर्च भएको थियो । हालसम्म कामपाले ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको छ ।
काष्ठमण्डप पुन निर्माण गर्न विभिन्न ६ जिल्लाबाट ल्याइएका काठहरु काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको छ । अब एउटै काठले बनेको भन्ने किंबदन्ती अब हटेको छ । पुरातात्त्विक महत्त्वको काष्ठमण्डप काठै-काठले बनेको छ । भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाँचौँ शताब्दीका भएको तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको सो सम्पदाको जगमा भूकम्पबाट कुनै क्षति नपुगेको कुरा युनेस्कोको सहयोगमा बेलायतको दरह्याम विश्वविद्यालय र पुरातत्त्व विभागको टोलीले गरेको पुरातात्त्विक अनुसन्धानले पनि औँल्याएको थियो । त्यस अनुसार सुरक्षित रहेको जगको गारोलाई नबिगारी त्यसलाई नै मर्मत गरी त्यसमाथि नयाँ गारो थप्ने कार्य भएको हो ।
तस्विर : सरोज राजाेउपाध्याय











प्रतिक्रिया