अस्ट्रेलिया महिला विश्व च्याम्पियन

0
Shares

लन्डन ।

अस्ट्रेलिया महिला आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ । प्रतियोगिताअन्तर्गत आइतबार भएको फाइनल खेलमा इंग्ल्यान्डलाई ७१ रनले हराउँदै अस्ट्रेलिया च्याम्पियन बनेको हो । अस्टे«लियाली टिम सातौंपटक महिला विश्वकपमा च्याम्पियन बन्यो । अस्ट्रेलियाले अपराजित रहँदै नौ वर्षपछि एकदिवसीय महिला विश्वकपको उपाधि जितेको हो । अस्ट्रेलिया यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा च्याम्पियन बनेको थियो ।

क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५६ रन बनाएको थियो । यो महिला विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो योगफल हो । ओपनर हेलीले १ सय ३८ बलमा २६ चौकासहित १ सय ७० रनको सानदार शतकीय इनिङ खेलिन् ।

यो हेलीको अन्तर्राष्ट्रिय करिअरको उत्कृष्ट प्रदर्शन हो भने ओडिआई करिअरको पाँचौं शतक हो । जारी विश्वकपमा हेलीको लगातार दोस्रो शतक पनि हो । हेलीले सेमिफाइनलमा वेस्टइन्डिजविरुद्ध १ सय २९ रनको शतकीय इनिङ खेलेकी थिइन् ।

हेलीले महिला र पुरुष दुवै विश्वकप फाइनलमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान पनि बनाएकी छन् । यसअघि, विश्वकप फाइनलमा पुरुषको तर्फबाट २००३ को विश्वकपमा अस्ट्रेलियाका एडम गिलक्रिस्टले श्रीलंकाविरुद्ध १ सय ४९ रनको शतकीय इनिङ खेलेका थिए । अर्की ओपनर राहेल हेन्स ९३ बलमा ७ चौकासहित ६८ रनमा आउट भइन् । पहिलो विकेटका लागि हेन्स र हेलीले २९.१ ओभरमा १ सय ६० रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । बेथ मुनीले ४७ बलमा ८ चौकासहित ६२ रन जोडिन् । मेग ल्यानिङले १० र एलिस ऐरीले १७ रन बनाइन् । अन्या श्रुब्सोले ९ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् ।

३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २ सय ८५ रनमा अल आउट भयो । इंग्ल्यान्डकी नाट सेभरले १ सय २१ बलमा १५ चौका र एक छक्कासहित १ सय ४८ रनको सानदार अविजित शतकीय इनिङ खेले पनि टोलीलाई विश्व च्याम्पियन बनाउन सकिनन् । अस्ट्रेलियाकी अलाना किंगले १० ओभरमा ६४ रन खर्चेर तीन विकेट लिइन् । जेस जेनसेन ८.४ ओभरमा ५८ रन खर्चेर तीन विकेट लिइन् भने मेगन स्कटले दुई विकेट लिइन् ।