इन्टरनेसनल डे अफ स्पोर्टस् लुम्बिनीमा हुने



काठमाडौं ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ बुद्ध जन्मभूमि लुम्बिनीमा आयोजना गर्ने भएको छ । यसका लागि लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको सहयोग रहनेछ । सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ को दिन ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ पारित गरेको थियो । सोही दिनअनुसार आयोजना हुने उक्त कार्यक्रम बुधबार हुदैछ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को प्रस्तावमा राष्ट्र संघले यो प्रस्ताव पारित गरेको थियो । त्यसअनुसार यो दिन विश्वमा विविध कार्यक्रम हुँदै आएको छ । एनओसीले सन् २०१४ देखि यो दिनलाई विविध कार्यक्रम गर्दै मनाउँदै आइरहेको छ । कोभिड महामारीका कारण पछिल्लो दुई वर्ष उक्त कार्यक्रम आयोजना हुन सकेन ।

एनओसीले यो वर्षदेखि कार्यक्रम लुम्बिनीमा आयोजना गर्ने निर्णय गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनीलाई नै यस कार्यक्रमका लागि रोज्नु पछाडि दुई मुख्य कारण रहेको बताउनुभयो । उहाँले भन्नुभयो—‘पहिलो कारण लुम्बिनी शान्तिका प्रतीक गौत्तम बुद्धको जन्मस्थान हो । त्यसैले यो कार्यक्रम लुम्बिनीमा गर्नु जत्तिको उपयुक्त अन्यत्र हुने छैन्। दोस्रँे कारण, हामी यही कार्यक्रम मार्फत लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार गर्न सक्छौं र यसले नेपालको प्रर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।’

कार्यक्रमको मुख्य अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय कुलबहादुर केसी हुनुहुनेछ र उहाँले शान्तिदीपमा कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । यसपछि, वाकथलनको कार्यक्रम रहनेछ । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा भिक्षु मैत्तेयले विश्व शान्तिबारे प्रवचन दिनुहुनेछ र यसैक्रममा भिक्षुहरूले विश्वमा शान्तिका लागि प्रार्थना गर्नु हुनेछ । कार्यक्रमको अन्त्यमा दीप प्रज्वलन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्