बल्लभलाई संगीत पुरस्कार

0
Shares

हेटौंडा, (नेस)।

हेटौंडाको मातृभूमि साहित्य समाजले संगीतकार शक्ति बल्लभलाई नित्यगोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार प्रदान गर्ने भएको छ। संगीतकार बल्लभले आँधीबेहरी, चोखो माया, पृथ्वी, सिमाना, हत्या, प्रतीक्षा, अवतार, आमाको माया, देउराली, जमिन, राजकुमार, रणभूमि, शंकर, परेली, रानीखोला, हतियार, बदिनी, पराइघर, देवदूत, कस्तो सम्झौता, दोधार, घर संसार, मायाको जालमा, ग्रहण, बसाईं, भुतुक्कै भएँ निजस्ता ३० भन्दा बढी फिल्मका साथै सात सयभन्दा बढी गीतमा संगीत भरिसकेका छन्।

नमस्ते काठमाडौं, चमेली (मैथिली), पल्लो घरको झ्यालजस्ता टेलिसिरियलमा पनि संगीत भरेका छन्। उनको आफैंलाई भार भयो आज आफ्नै जिन्दगी, चन्द्रमा र चखेवाको मिलन कैले हुन्न, म पनि त कुनै आशमा अल्झिदिएछु, उडुँ कि गुडुँ म ए चरी सरर (आँधीबेरी), ऐनै ऐनाको रहेछ यो मेरो घर, सप्तरंगी फूलै फुल्यो वनभीर पाखैमा, चुमेर सुगन्धी फूल लोलाइदिन्छ यो मन, दुई चुल्ठी बाटेर सोह्र साल काटेर, खोलावारि खोलापारि पिपलु र वरलगायतका गीत सुप्रसिद्ध छन्।

त्यसैगरी, मकवानपुरका नाटककार तथा कलाकार उज्ज्वल शर्मा भण्डारीलाई राजकुमार स्मृति मातृभूमि सम्मान प्रदान गरिने बुधबार मकवानपुरमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष माधव पोखरेलले जानकारी गराए। त्यस्तै, भ्वाइस अफ किड्स विजेता जेनिश उप्रेतीलाई मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान प्रदान गरिने जनाइएको छ। पुरस्कार र सम्मान आगामी शनिबार एक कार्यक्रम आयोजना गरी प्रदान गरिने समाजले जनाएको छ।