गुजरातको जितबाट शुरुवात



नयाँ दिल्ली ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यु गरेका टिम बीचको भिडन्तमा गुजरात टाइटन्सले बाजी मारेको छ । सोमबार राति भएको खेलमा गुजरातले लखनउ सुपर जायन्टलाई ५ विकेटले हराएको हो । लखनउले १ सय ५९ रनको लक्ष्य दिएकोमा गुजरातले २ बल बाँकी राखि जित संभव पारेको थियो । यो खेल गुजरातका बलर मोहम्मद शामीको लागि विशेष रह्यो ।

शामीले लखनउको टिमलाई शुरुमै निकै दबाबमा राखेका थिए । पहिलो बलमै उनले १७ करोड भारुमा बिकेका लखनउका कप्तान केएल राहुललाई शून्यमा पभेलियन फर्काए । राहुल आईपीएलमा दोस्रो पटक खाता नखोली आउट भएका छन् । यसअघि, २०१६ को आईपीएलमा उनी शून्यमा आउट भएका थिए । त्यतिबेला राहुल गुजरात लायन्सका लागि खेलेका थिए ।

यसपछि, दोस्रो ओभरमा उनले क्विन्टन डिकाकलाई ७ रनमा बोल्ड गरेर लखनउलाई दबाबमा राखे । तेस्रो ओभरमा उनले मनीष पाण्डेको विकेट पनि लिए । लखनउले पहिलो चार विकेट मात्र २९ रनको योगफलमा गुमाएको थियो ।

तर, दीपक हुडा र आयुष बदोनीले पाँचौं विकेटका लागि ६८ बलमा ८७ रनको साझेदारी गरे । यो साझेदारीले लखनउ खेलमा फर्किएको थियो । दीपकले ४१ बलमा ५५ रन जोडेर आईपीएल करियरमा चौथो अर्धशतक प्रहार गरेका थिए ।

आयुषले पनि ४१ बलमा ५४ रनको शानदार इनिङ खेले । उनले आईपीएलमा पहिलो पटक खेले पनि अर्धशतक बनाएका थिए । २२ वर्षीय क्रिकेटरले ७ चौका पनि प्रहार गरेका थिए ।
यस खेलमा दुई दाजुभाइ एक अर्काविरुद्ध खेलेका थिए । गुजरातका कप्तान बनेका हार्दिक पाण्डेले २८ बलमा ३३ रन बनाएका थिए । उनी आफ्नै भाइ क्रुणाल पाण्डेको बलमा आउट भएका थिए । हार्दिकको क्याच लंग अफमा रहेका मनीष पाण्डेले लिएका थिए ।

लखनउका तीव्र गतिका बलर दुष्मन्त चमिराले ५ बलभित्र गुजरातका दुई विकेट लिएका थिए । उनले आफ्नो पहिलो ओभरको तेस्रो बलमा शुभमन गिल (०) को विकेट लिए । गिलको क्याच एक्स्ट्रा कभरमा रहेका दीपक हूडाले लिएका थिए ।

यसपछि, चमीराले अर्को ओभरको पहिलो बलमा विजय शंकरलाई ४ रनमा क्लिन बोल्ड गरे । तर, राहुल तेवतिया र डेविड मिलरले ३४ बलमा ६० रनको साझेदारी गरी जित दिलाएका थिए । राहुलले २४ बलमा नटआउट रहँदै ४० रन बनाए ।

प्रतिक्रिया दिनुहोस्