सूर्य नेपाल वेस्टर्न ओपन



काठमाडौं ।

सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सूर्य नेपाल वेस्टर्न ओपन हिमालयन गल्फ कोर्स, पोखरामा आयोजना हुँदैछ । प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ ।

५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहनेछ । इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबार प्रोएम इभेन्ट हुनेछ । नेपालभरका व्यावसायिक गल्फरले माछापुच्छ्रे शिखरको काखमा मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार तथा तेस्रो स्थान हासिल गर्नेले ६५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

भुवन नगरकोटी, संजय लामा, धनबहादुर थापा र रामे मगर प्रतियोगिताका दावेदार हुन् । एमेच्योरतर्फ १३ औँ सागका दोहोरो स्वर्णविजेता सुभाष तामाङ र अजित विक उच्च लयमा छन् । हिमालयन गल्फ कोर्स प्रतियोगिता आयोजनाका लागि तयार अवस्थामा छ ।

पार ६९ को कोर्स १६ होलको रहेको छ र शुरुवाती २ होल दोहोरिने प्रावधान छ । यस कोर्सलाई विश्व प्रसिद्ध गल्फ डाइजेस्ट म्यागजिनले विश्वकै साहसिक कोर्समा समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्