प्रवीण र संगीतालाई स्वर्ण



काठमाडौं ।

नेपाल आर्मीका प्रवीण मानन्धर र संगीता राईले गणेशमान सिंह फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगिताको एकल काता मंगलबार स्वर्ण जितेका छन् । बलुम्बुस्थित डिबी पार्टी भेन्युमा भएको फाइनलमा प्रवीणले प्रदेश १ का विवेक राई तथा संगीताले बाग्मतीकी सञ्जु देशारलाई पराजित गरे ।

गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ, शाखा डोजो सतुङ्गलद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष टिम कातामा आर्मी पहिलो, गण्डकी दोश्रो तथा कर्णाली र बाग्मती तेश्रो भए । सो स्पर्धाको महिलामा आर्मी पहिलो, गण्डकी दोश्रो तथा लुम्बिनी र बाग्मती तेश्रो बने ।

पुरुष ५० केजीमुनि गण्डकीका बुद्ध लामा पहिलो भए । उनले फाइनलमा प्रदेश १ का धनकुमार राईलाई हराए । ६७ केजीमुनि प्रदेश १ का रोहित बाँस्कोटाले आर्मीका किरण पुन मगरलाई पाखा लगाउँदै शीर्ष स्थान हात पारे । महिला ६८ केजीमाथि आर्मीकी निरुपा तामाङ पहिलो भइन् । निरुपाले फाइनलमा बाग्मतीकी सोनिया मोक्तानलाई पन्छाइन् ।

प्रतिक्रिया दिनुहोस्