खेलकुद मन्त्रालयको काम अर्थ मन्त्रालयले गर्‍यो



पोखरा ।

गण्डकी प्रदेशमा खेलकुद क्षेत्रका लागि खेलकुद मन्त्रालय छ । मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् पनि छ । गण्डकीका युवा तथा खेलकुदमन्त्री हुन राजीव गुरुङ (दीपक मनाङे) ।  मन्त्रालयलाई नै चुनौती दिँदै गण्डकी प्रदेशको अर्थ मन्त्रालयले सम्मानजनक काम गरेको छ । खेलाडी सम्मान हुनु राम्रो कुरा हो । तर, खेलकुद मन्त्रालयले जुन भूमिका निभाउनुपर्ने हो त्यो भूमिका निभाएको देखिएन । तर, अर्थ मन्त्रालयले भने खेलकुद मन्त्रालयको भूमिका निर्वाह गर्‍यो ।

अर्थ मन्त्रालयले १९ वर्ष मुनिका खेलाडीहरू सहभागी (यु–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोलीलाई अर्थ मन्त्रालयले आर्थिक सहयोग गर्ने भएको हो । मन्त्रालयमा आइतबार आयोजित खेलाडी सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा खेलाडीहरूलाई सम्मान गर्दै अर्थमन्त्री रामजीप्रसाद बराल (जीवनले) प्रदेशको नाम उचो राख्न खेलाडीहरूले पुराएको योगदानको प्रशंसा गर्दै उक्त टोलीमा आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

खेलकुद मन्त्रीले गर्नुपर्ने कर्तव्य अर्थमन्त्रालयले गरेको छ । प्रदेश सरकारले सहभागी खेलाडीलाई प्रारम्भिक चरणमा जनही ५० हजार रुपैयाँ सहयोग गर्न चाहेको बरालले बताए । खेलाडीको प्रोत्साहन स्वरुप केही न केही गर्नुपर्छ भन्ने मान्यताले प्रदेश सरकारले प्रारम्भिक चरणमा उक्त रकम दिने सोच बनाएको मन्त्री बरालले जानकारी दिए । ‘राष्ट्रिय प्रतियोगितामाप्रदेशको प्रतिनिधित्व गरी विजेता हुनुभएको तपाईं सम्पूर्ण खेलाडी, अफिसियल, खेल संघ लगायतलाई विशेष धन्यवाद दिन चाहन्छु, यो जितले गण्डकी प्रदेशको गौरव र सान बढेको हामीले महशुस गरेका छौँ ।’ खेल क्षेत्रले व्यक्तिलाई स्वस्थ्य राख्ने, आफ्नो जिल्ला, प्रदेश र देशको पहिचान बनाउने हुँदा आगामी दिनमा खेल क्षेत्र प्रवद्र्धन गर्न प्रदेश सरकारको ध्यान केन्द्रित हुने भएको मन्त्री बरालले बताए ।

प्रदेशका आन्तरिक मामिलामन्त्री दोबाटे विश्वकर्माले उक्त जितले गण्डकी प्रदेशलाई ठुलो खुसी प्रदान गरेको बताउँदै खेल क्षेत्रमा लाग्नेहरूको जीवनको भविष्य ग्यारेन्टी गर्नुपर्ने धारणा राखे । सम्भावना भएका खेलाडीहरू पलायन हुने अवस्थालाई अन्त्य गर्नुपर्ने उहाँको धारणा थियो ।

गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङले महिला क्रिकेटले दिलाएको जितले प्रदेशका २५ लाख जनतामा खुसी छाएको बताए । प्रदेश सरकारले खेलकुदलाई बजेटको हिसाबले बढी प्राथामिकता दिनुपर्ने उनको माग रहँदै आएको छ ।

कैलालीको धनगढीमा हालै सम्पन्न सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजितगर्दै गण्डकी प्रदेशले उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्