प्रदेश खेलकुदमा चितवन प्रथम



हेटौंडा ।

प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवन जिल्ला प्रथम भएको छ । चितवनले स्वर्ण २१, रजत २२ र कास्य १७ गरी ६० पदक हासिल गर्दै प्रथम स्थान पाएको हो ।
काठमाडौं जिल्ला द्वितीय भएको छ । काठमाडौंले स्वर्ण १९, रजत ६ र कास्य ९ गरी ३४ पदक प्राप्त गरेको छ । ललितपुर ८ स्वर्ण, १० रजत र ८ कास्य गरी २६ पदक प्राप्त गर्दै तेस्रो भएको छ । काभे्रपलाञ्चोक ८ स्वर्ण, ६ रजत र ११ कास्य गरी २५ पदक प्राप्त गरी चौथो भएको छ । मकवानपुर ८ स्वर्ण, ५ रजत र १७ कास्य गरी ३० पदक प्राप्त गर्दै पाँचौं स्थानमा पुगेको छ ।

रामेछापले ७ स्वर्ण, ७ रजत र १५ कास्य गरी २९ पदकसहित छैठौं स्थान प्राप्त गर्दा भक्तपुर ७ स्वर्ण, ५ रजत र १७ कास्य गरी २९ पदकसहित सातौं, नुवाकोट ६ स्वर्ण, १२ रजत र ५ कास्य गरी २३ पदकसहित आठौं, सिन्धुपाल्चोक ५ स्वर्ण, ४ रजत र १० कास्य गरी १९ पदकसहित नवौं स्थानमा छ ।

धादिङ ४ स्वर्ण, ४ रजत र ८ कास्य गरी १६ पदकसहित दशौं स्थानमा छ । दोलखा २ स्वर्ण, ९ रजत र १४ कास्य गरी २५ पदकसहित एघारौं स्थानमा रहँदा सिन्धुली २ स्वर्ण, ६ रजत र ५ कास्य गरी १३ पदकसहित बाह्रौं र रसुवा १ स्वर्ण, २ रजत ५ कास्य गरी ८ पदकसहित तेह्रौं स्थान रहेको छ ।

वागमती प्रदेशका १३ जिल्लालाई समावेश गर्दै आयोजना गरिएको प्रतियोगिता शनिबार काभ्रेको धुलिखेल रंगशालामा समापन गरिएको थियो । प्रतियोगिताको फागुन २८ गते हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा उद्घाटन गरिएको थियो ।

हेटौंडालाई राजर्षि जनक कप

हेटौंडाको पिप्ले युवा क्लबले दोस्रो वर्ष पनि राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।आइतबार भएको फाइनलमा ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबलाई सडनडेथमा निराश बनाउँदै पिप्लेले दोस्रो वर्ष पनि उपाधि जितेको हो । स्टार खेलाडीले भरिएको मच्छिन्द्रलाई हराउने क्रममा पिप्लेका गोलरक्षक अशोक बरालले दुई वटा प्रहार रोकेका थिए । निर्धारित समय र टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथ मार्फत् उपाधि विजेताको टुंगो लगाइएको हो ।

बरालले विमल घर्तीमगर र देवेन्द्र तामाङको प्रहार रोकेका थिए । मच्छिन्द्रका छिरिङ गुरुङको प्रहार बारमा लागेर फर्कियो । सुजल श्रेष्ठ, विजय धिमाल र ओमुलाजा करिमको प्रहार गोल भए । पिप्लेका अशोक खवास, समिराज थोकर, अमिर श्रेष्ठ र रूपबहादुर लामाको प्रहार गोल भए । कुलदीप कार्कीको प्रहार बाहिरियो भने अजायी मार्टिन्सको प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाएका थिए ।

खेलको १५ मिनेटमै मार्टिन्सको प्रहार पोलमा लागेर फर्किंदा पिप्ले अग्रता लिनबाट चुकेको थियो । ४३औं मिनेटमा विमल घर्तीमगरको वान भर्सेस वान प्रहारलाई पिप्लेका गोलरक्षक बरालले बचाउ गरेका थिए । दोस्रो हाफको ३३ औं मिनेटमा विमलले नै वान भर्सेस वान बललाई पोस्टको दिशा दिन सकेनन् । खेलको अन्तिम समय दुवै टिमले आक्रामक खेले पनि गोल हुन नसक्दा खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । विजेता पिप्ले युवा क्लबले नगद १० लाख १ हजार र मच्छिन्द्रले ५ लाख ५ सय रुपियाँ पाएका छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पिप्लेका रूपबहादुर लामा घोषित भए । लामाले नगद ५१ हजार प्राप्त गरे । फाइनलका ‘म्यान अफ दि म्याच’ पिप्लेका गोलरक्षक बराल घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका श्रेष्ठ, उत्कृष्ट डिफेन्डर वागमती युवा क्लब सर्लाहीका अमर श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका सुजल श्रेष्ठ, उत्कृष्ट फरवार्ड मच्छिन्द्रकै विमल र उत्कृष्ट प्रशिक्षक पिप्लेका सुबिन घिमिरे घोषित भए । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार हासिल गरे ।

प्रतिक्रिया दिनुहोस्