हरियाणालाई पीएम कप उपाधि



बाँके ।

आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्टस् क्लबले जितेको छ । नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै हरियाणाले उपाधि जितेको हो ।

हरियाणाले पहिलो सेट २६–२४ अंकले जितेको थियो । हरियाणाको २४ अंक हुँदा १८ अंकमा रहेको पुलिसले लगातार ६ अंक जोडे पनि जीत निकाल्न सकेन । दोस्रो सेट २४–२१ ले हरियाणाले आफ्नो पक्षमा पार्यो । यो सेटमा पुलिसले शुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । तेस्रो सेट २५–२३ ले हरियाणाले जित्यो ।

लिग चरणको खेलमा पनि हरियाणाले पुलिसलाई ३–२ सेटमा पराजित गरेको थियो । पुलिसले लगातार दुई सेट जिते पनि हरियाणाले पुनरागमन गर्दै पछिल्लो तीन सेट जितेको थियो । उपाधिसँगै हरियाणाले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले दुई लाख ५० हजार रुपैयाँ पाएको छ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले सोझो सेटमा न्यु डायमन्डलाई पराजित गरेको हो । आर्मीले न्यु डायमन्डलाई लिग चरणमा पनि पराजित गरेको थियो ।

तेस्रो भएको आर्मीले एक लाख रुपैयाँ र चौथो भएको न्यू डायमन्डले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । चैत्र १० गतेदेखि शुरु भएको पीएम कपमा नेपालका चार र भारतका दुई टिमले भाग लिएका थिए । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्