बाइक रेसिङले धुलिखेलमा रौनक



काठमाडौं ।

पछिल्ला तीन दिनसम्म धुलिखेलको हिमालयन मोटरल्यान्डमा बेग्लै प्रकारको रौनकता देखियो । विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरूले हिमालयन मोटरल्यान्डको सर्किटमा तीव्र गतिमा बाइक हुइँक्याउँदा धेरैको ध्यान त्यतैतिर तानियो ।

उक्त हिमालयन मोटरल्यान्डमा बाइक रेसिङ प्रतियोगिता नेपाल रेसर कप २०२२’ सम्पन्न भएको थियो । तीन दिन सम्म विभिन्न प्रकारको छनोट खेलपश्चात् सो प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको हो ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजित मोटरसाइकल रेसिङमा १ सय ५० सीसीतर्फ सन्दीप घिमिरे विजेता बने । सुजन थापा मगर र महेश राना मगरले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । त्यसैगरी, २ सय सीसीतर्फ राजकुमार कार्की विजेता बने । विवेश श्रेष्ठ र भीम होनाले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे ।

१ सय ५० सीसीअन्तर्गत १ सय ५० देखि १ सय ८० सीसी सम्म तथा २ सय ५० सीसीअन्तर्गत २ सय देखि २ सय २० सीसी सम्मका बाइक राइडरहरूको सहभागी थिए । १ सय ५० सीसीमा ४८ जना र २ सय सीसीमा २४ जना प्रतियोगीले भाग लिएका थिए ।

लकडाउनपश्चात् पहिलोपटक राष्ट्रिय स्तरमा आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक रूपमा राइडरहरूको सहभागिता रहेको थियो । यस प्रकारको राइडिङ प्रतियोगिताले मोटर स्पोर्ट्स क्रेजलाई बढाउन महत्वपूर्ण भूमिका खेल्ने र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने बताइएको छ । आगामी दिनमा यस प्रकारका मोटर स्पोर्ट्स इभेन्ट अझै बढ्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्