इंग्ल्यान्डको पुनरागमन जित



लन्डन ।

इंग्ल्यान्डले मैत्रीपूर्ण खेलमा स्विट्जरल्यान्डविरुद्ध पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले स्विट्जरल्यान्डमाथि २–१ को पुनरागमन जित निकालेको हो । इंग्ल्यान्डको पूनरागमन जितमा लुका सा र ह्यारी केनले गोल गरे । स्विट्जरल्यान्डका ब्रेल इम्वोलोको गोल सान्त्वना बन्यो । बेम्बली स्टेडियममा शनिबार राति भएको खेलको २२औं मिनेटमा ब्रेल इम्बोलोको गोलबाट इंग्ल्यान्ड पछि परेको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुका साले कोनोर गल्लाघेरको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डको जित पक्का गरे । त्यस्तै, स्पेनले पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सफलता हात पार्दा बेल्जियम भने बराबरीमा रोकिएको छ । आरसिडिई स्टेडियम कोर्नेल्ला स्पेनमा शनिबार राति भएको खेलमा स्पेनले घरेलु मैदानमा अल्बानियालाई २–१ ले पराजित गरेको हो ।

स्पेनको जितमा फेरान टोरेस र ड्यानियल ओल्मोले गोल गरे । अल्बानियाका मेरटो उजनीले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको ७५औं मिनेटमा फेरान टोरेसको गोलबाट स्पेनले शुरुवाती अग्रता बनायो । उनले यारेमी पिनोको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको ८५औं मिनेटमा मेरटो उजनीले बराबरी गोल फर्काए । त्यसपछि परिवर्तित खेलाडी डेयानियल ओल्मोले ९०औं मिनेटमा गोल गर्दै स्पेनको जित पक्का गरे । ओल्मो ६३औं मिनेटमा पाब्लो गाभीको स्थानमा मैदान छिरेका थिए । अर्काे खेलमा बेल्जियमले दुईपटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा आयरल्यान्डस“ग २–२ गोलको बराबरी खेलेको छ । बेल्जियमका मिचे बात्सुयाई र हान्स भानाकेनले गोल गर्दा घरेलु टोली आयरल्यान्डका चिडोजे ओग्वेने र एलान ब्राउनले बराबरी गोल फर्काए । १२औं मिनेटमा मिचे बात्सुयाईको गोलबाट बेल्जियमले शुरुवाती अग्रता लिएको थियो । ३६औं मिनेटमा चिडोजे ओग्वेनेले बराबरी गोल फर्काए । ५९औं मिनेटमा हान्स भाननकेनले गोल गर्दै बेल्जियमलाई पुनः २–१ को अग्रता दिलाए । तर, ८६औं मिनेटमा एलान ब्राउनले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

त्यसैगरी, इंग्लिस क्लब चेल्सीका फरवार्डद्वय काई हाभर्टज र टिमो वेर्नरको गोलमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इजरायललाई २–० ले पराजित गरेको छ । प्रिजेरो एरिना सिनसेहिम जर्मनीका शनिबार राति भएको खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो । प्रतिस्पर्धात्मक खेलको ३६औं मिनेटमा काई हाभर्टजले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । उनले डेभिड रामको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । उनले इल्केए गुन्डोगानको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको अन्त्यतिर दुवैले पेनाल्टी चुकाएका थिए । ८९औं मिनेटमा थोमस मुलर पेनाल्टीमा चुक्दा जर्मनीले गोल अन्तर बढाउन सकेन । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा योनेटान कोहेन पनि पेनाल्टीमा चुक्दा इजरायल गोल अन्तर कम गर्नबाट चुक्यो । त्यस्तै अन्य खेलमा क्रोएसिया र स्लोभेनिया तथा फिनल्यान्ड र आइसल्यान्ड १–१ गोलको बराबरीमा रोकिँदा नेदरल्यान्ड्सद्वारा डेनमार्क ४–२ ले पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्