खडक वारियर्स र द किंग विजयी



सप्तरी ।

सप्तरीमा जारी चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगअन्तर्गत आइतबार बजाज खडक वारियर्स र राजविराज द किंग विजयी भएका छन्। दिनको पहिलो खेलमा खडक वारियर्सले टीभीएस किंग्स राजविराजलाई १४ रनले पराजित गर्यो। वारियर्सले दिएको १ सय ५४ रन लक्ष्यको जवाफमा किंग्सले २० ओभरमा ७ विकेट क्षतिमा १ सय ३९ रन बनाउन सक्यो । टिमका लागि ओपनर शेख इमरानले ४७, महबुबआलमले ३७, सुरज कुर्मीले २३ रन बनाए पनि जित्न प्रयाप्त रहेन । ‘प्लेयर अफ द म्याच’ वारियर्सका सर्वन यादवले ३ विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ गरेको वारियर्सले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ५३ रन बनायो । वारियर्सको लागि मुकुन्द यादवले सर्वाधिक ३३ रन, सर्वनले २४ रन, अविनाश कर्णले २२ रन तथा राहुल मण्डल र रोबिन सिंहले समान १९ रन योगदान दिए । किंग्सका पप्पु यादवले सर्वाधिक ३ विकेट लिए।

यसैगरी, दोश्रो खेलमा द किंगले राजविराज ब्रदर्सलाई ३० रनले पराजित गर्यो । द किंगले दिएको १ सय ५२ रन लक्ष्यको जवाफमा ब्रदर्सले १८.२ ओभरमा १ सय २१ रन मात्र बनायो । ब्रदर्सको ब्याटिंगमा निरज कुमार यादवले सर्वाधिक २७ र प्रशान्त सिंहले २४ रन बनाए । द किंगका बलर रुपेश कुमार सिंहले सर्वाधिक ३ विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिंग गरेको द किंगले २० ओभरमा ८ विकेट क्षतिमा १ सय ५१ रन बनायो । टिमको लागि फिर्दोस अन्सारीले सर्वाधिक ४०, रूपेश कुमार सिंहले ३० र सन्तोष कार्कीले २९ रनको योगदान दिए । ब्रदर्शका बलर अनुज चुनारा, दीपेश कंडेल र अजय यादवले २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्