केकेआरको विजयी शुरुआत



नयाँ दिल्ली ।

कोलकाता नाइट राइडर्स (केकेआर) ले चेन्नई सुपर किंग्स (सीएसके) लाई ६ विकेटले हराएर आईपीएल २०२२ मा विजयी शुरुआत गरेको छ । उद्घाटन खेलमा केकेआरले १ सय ३२ रन लक्ष्य १८.३ ओभरमा ४ विकेटको क्षतिमा हासिल गरेको थियो । टिमलाई जित दिलाउन ओपनर आजिन्क्य रहाणेले सर्वाधिक ४४ रन बनाए ।

यस्तै, महंगो मूल्यमा कोलकाताको टिममा पुगेर कप्तान बनेका श्रेयस अय्यर २० रनमा नटआउट रहेका थिए । सीएसकेका ड्वेन ब्राभोले सर्वाधिक ३ विकेट लिएका थिए ।

यसअघि, मुम्बईको वानखेडे रंगशालामा सीएसकेले १ सय ३१ रन मात्रै बनाउन सकेको थियो । टिमका पूर्व कप्तान एमएस धोनीले सर्वाधिक ५० रन बनाए भने अन्यबाट त्यति उल्लेखनीय प्रदर्शन भएन । धोनी यसअघि, २००८ देखि पछिल्लो प्रतियोगितासम्म टिमका कप्तानमा थिए । तर, यसपटक टिमको भार रविन्द्र जडेजालाई धोनीले सम्हाल्न दिएका हुन् । जडेजाले २६ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्