मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्नुपर्ने



कास्की (नेस) ।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बरालजीवनले कोभिडबाट प्रभावित भएका सीपयुक्त मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्नुपर्ने बताउनुभएको छ । आई.बी.एन. मिडिया एन्ड रिसर्च प्रालि र पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा पोखरामा आयोजित अर्थतन्त्रमा कोभिडको असर र पुनरुत्थान विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘प्रदेश सरकारले सीपयुक्त मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्नुपर्छ, यदि उनीहरू विदेशीन बाध्य भए भने कोरोनाबाट थलिएको पर्यटन माथि उठाउन गाह्रो हुन्छ । सीपयुक्त कामदारलाई टिकाउन राज्यको तर्फबाट राहत प्याकेज ल्याउनुपर्ने आवश्यकता रहेको मन्त्री बरालको भनाइ थियो । पर्यटन क्षेत्रका पनि दक्ष जनशक्तिलाई जोगाउनु पर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नु भयो– ‘कोरोनाले गर्दा सबै क्षेत्रमा प्रभाव मात्र भएन त्यसलाई हामीले अवसरको रूपमा ग्रहण गर्न नसक्नु हाम्रो ठूलो भुल हो, त्यही बेला हाम्रो ध्यान कोरोनाबाट कसरी बच्ने भन्नेतर्फ मात्र केन्द्रित भयो ।’रोजगारी गुमाएर फर्केका नागरिकलाई क्वारेन्टाइनमा राखेर विभिन्न किसिमका व्यावसायिक प्रशिक्षण दिनुपर्नेमा त्यो विषयमा प्रदेश चुकेको उहाँले बताउनुभयो ।

व्यवसाय जीवन रक्षा कोष कोरोनाबाट प्रभावित भएका साना तथा मझौला व्यवसायहरूको लागि राज्यको तर्फबाट संरक्षण गर्नुपर्छ भनी ल्याइएको कोष भएको उहाँले बताउनुभयो । उक्त कोष लक्षित समूहसँग पुग्न नसकेको हुँदा प्रदेश सरकारले क वर्गका बैंकबाट मात्र ल्याइएकोमा अहिले ख वर्गका विकास बैंकबाट समेत यही चैत १९ गतेसम्म आवेदन दिन सकिने उल्लेख गर्नुभयो ।

खर्बको खाद्य पदार्थ आयात हुने गरेको उल्लेख गर्दै मन्त्री बरालले नेपालमा आवश्यक हुने खाद्यपदार्थ उत्पादन गर्न सकिने दाबी गर्दै उत्पादनलाई बढावा दिन सुझाव दिनुभयो । माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री बरालले संघीयताको पहिलो कार्यकालमा अपेक्षाकृत ढंगले संघीयता अघि नबढे पनि निराशाजनक हुने अवस्था भने नभएको जनाउनुभयो । आर्थिक उन्नतिका लागि पर्यटन र कृषिसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभएको मन्त्री बरालले कृषिमा न्यून ढंगले बजेट विनियोजन भएको जनाउनुभयो । पर्यटन र कृषि गण्डकीका समृद्धिका आधार भएको उहाँले बताउनुभयो ।

राजनीतिक स्थायित्व कायम हुन नसके समृद्धिको कल्पनामात्र हुने उल्लेख गर्दै मन्त्री बरालले राजनीतिक स्थायित्व नै समृद्धिको पहिलो आधार भएको बताउनुभयो । विकासका लागि मानव संशासन ठूलो कुरा भएको उहाँको बुझाई थियो । उहाँले भन्नुभयो– ‘घर अगाडि चिल्लो बाटो त तर सामाजिक रूपमा उपेक्षित छ भने त्यसको अर्थ हुँदैन, यो सामाजिक न्यायसँग जोडिन्छ ।’ निजीसँग भएको ठुलो भोल्युमको पुँजी राज्यले उचित ढंगले परिचलान गर्न सक्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अब राजनीति कुरा गरेर मात्र नहुने, कोभिडबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उकास्ने गरी काम गर्नुपर्ने बताउनुभयो । साना तथा मझौला व्यवसायीलाई पुनरुत्थान नगरी कोभिडबाट प्रभावित भएको व्यवसायीलाई माथि उठाउन नसकिने पूर्व अध्यक्ष मुल्मीले बताउनुभयो । निती नियम बनाए पनि त्यसको कार्यान्वयनमा कठिनाई भएको उल्लेख गर्दै मुल्मीले व्यवसायिक जीवन रक्षा कोष प्रभावकारी ढंगले लागु हुन नसकेको दाबी गर्नुभयो ।

मूल्यवृद्धि बजार अनियन्त्रित भएको विषयमा अर्थ मन्त्रीसहितका अन्य सरोकारवालाले नियमन गर्नुपर्ने उहाँले बताउनुभयो । राज्य सञ्चालनका निकायहरू थप जिम्मेवार हुनुपर्ने मुल्मीले बताउनुभयो । कोभिडको कारण नेपालको अर्थतन्त्र करिब ५ वर्ष पछि धकेलिने भएको प्राडा.रेशम थापाले बताउनुभयो । आर्थिक गतिविधि सञ्चालन भए पनि पहिलाको तुलनामा करिब ७२ प्रतिशतमात्र आर्थिक क्रियाकलाप हुने गरेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशको पर्यटन र रेमिट्यान्स प्रभावित हुँदा धेरै क्षेत्रमा यसको असर पर्ने प्राडा.थापाले बताउनुभयो । उहाँले कोभिडले अर्थतन्त्रमा पारेको प्रभाव र पुनरुत्थान विषयमा कार्यपत्र प्रस्तुत गर्दै कोभिडबाट नेपालले आफ्ना उत्पादन विदेशमा पुर्याउने गरी काम गर्न चुकेको उल्लेख गर्नुभयो ।

अर्थ शास्त्री प्रा.डा. लेखनाथ भट्टराईले कार्यपत्रमाथि टिप्पणी गर्दै गण्डकी प्रदेशमा कोभिडबाट पर्यटन, यातायात, कन्स्टक्सनलगायतको क्षेत्रमा बढी प्रभाव परेको बताउनुभयो । रेमिट्यान्स पर्यटनको अभिन्न अंग नभएको उल्लेख गर्दै उहाँले रेमिट्यान्स अनुत्पादन क्षेत्रमा लगानी भएको दाबी गर्नुभयो । गरिब परिवारलाई वर्षमा एक सय दिन रोजगार दिएर पनि जनताको जीवन स्तर उकास्न सकिने उहाँले बताउनुभयो । प्रदेश सरकारलाई आफूहरूले दिएको सुझाव खासै मनन नगरेको प्रा.डा. भट्टराईको गुनासो थियो ।

संघका अध्यक्ष नारायण कोइरालाले आयातमुखी हाम्रो अर्थतन्त्रलाई अब निर्यातमुखी र आयात कम गरी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । प्रा.लि.का प्रबन्धक हृदयराज गौतमको अध्यक्षतमा कायक्रम सम्पन्न भएको कार्यक्रम संयोजक विश्वमोहन अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्