नेपालले आफ्नै घरेलु मैदानमा सिरिज गुमायो



काठमाडौं ।

पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालले आफ्नै घरेलु मैदानमा गुमाएको छ । पपुवा न्युगिनीले शनिबार भएको दोस्रो खेलमा नेपाललाई ३ विकेटले हराएको हो । योसँगै सिरिज नेपालले २–० ले गुमाउन पुग्यो । त्रिवि मैदानमा नेपालले २ सय ७८ रन बनाएर सशक्त ब्याटिङ रहेको पुष्टि गर्यो । तर, यो ठूलो लक्ष्य पाहुना टिम पपुवा न्युगिनीले ७ विकेट गुमाएर भेटाउँदा नेपालले सिरिज बराबरी गर्न सकेन ।

नेपालको बलिङ जम्न सकेन । नेपाली बलरविरुद्ध पपुवा न्युगिनीका ओपनर ब्याटर लेगा सियाकाले शानदार ब्याटिङ पस्कनु नै हारको कारण बन्यो । उनले १ सय २ बलको सामना गरेर ९० रनको योगदान दिए । उनको विजयी प्रदर्शनमा १२ चौका र १ छक्का पनि सामेल थिए ।

नेपाली बलरले पहिलो दुई ओभर मात्रै उत्कृष्ट बलिङ गरे । नेपालको बलिङ इनिङतर्फ दोस्रो ओभरमा सोमपाल कामीले दोस्रो र तेस्रो बलमा विकेट लिएर घरेलु टिमलाई राम्रो शुरुवात दिलाएका थिए । यति नै नेपालको लागि खुशीको क्षण रह्यो । यसपछि भने पपुवा न्युगिनीले नेपाली बलरमाथि दवाव बनाउँदै रन बटुलेको थियो । ‘प्लेयर अफ द म्याच’ सियाकाले दुई शानदार साझेदारी गर्दै टिमको स्कोर १ सय ८८ रनसम्म पुर्याए ।

सियाका एकदिवसीय करियरको दोस्रो शतक हान्ने तरखरमा रहँदा आउट भएका थिए । उनलाई पवन शर्राफले क्लिन बोल्ड गर्दा नेपालको लागि राहत मिलेको पनि थियो । तर, मध्यक्रमका ब्याटर रिले हेल्कुरेले नेपाललाई खेलमा फर्कनै दिएनन् । नटआउट रहँदै ४८ रन बनाएर हेल्कुरेले नेपालको लागि हार निर्धारित गरिदिएका थिए ।

नेपाली बलर कमजोर
नेपाली बलर सन्दीप लामिछानेले एकदिवसीय करियरमा पनि ५० विकेट त लिए । तर, उनले नेपाललाई यो उपलब्धिमा जित भने दिलाउन सकेनन् । सोमपाल कामीले ३ विकेट लिन ३८ रन खर्चेको तुलनामा सन्दीपले १ विकेट लिन ५४ रन खर्चेका थिए । पवनले २ विकेट लिन ४५ रन दिँदा आरिफ शेखले ६३ रन खर्चेर १ विकेट हासिल गरेका थिए ।

अन्यमा विकेटविहीन बनेकाहरु गुलशन झाले १ ओभरमा २० रन र दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ४३ रन दिए । भीम सार्की र कुशल भुर्तेलले एक–एक ओभर फयाँकेका थिए ।

अर्को शतक खेर गयो
नेपाली ब्याटिङमा दीपेन्द्रले १ सय ५ रन बनाए । उनले ७ चौकाको सहयोगमा एकदिवसीय करियरमा मेडन शतक प्रहार गरेका थिए । तर, उनको शतक नेपाल पराजित हुँदा खेर गयो । योसँगै नेपालको लागि यही सिरिजमा दुई शतक खेर गएको छ । यसअघि पहिलो खेलमा रोहित कुमार पौडेलले प्रहार गरेको शतक खेर गएको थियो । पहिलो खेल नेपाल ६ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्